झांगिदो बालश्रम(कविता)

कोरियाअपडेट साहित्य

कमलेश घरडी

सडक पारी पट्टिको
एक सुन्दर क्याफेमा
हरेक दिन
एका बिहानै
भर्खर किशोरावस्थामा प्रवेश गरेको
एक थकित बालक
अमिलो मन्द मुस्कान सहित
काममा ब्यस्त देखा पर्छ
ट्राफिक लाइट हरियो नहुन्जेल
पारदर्शी सिसाबाट
मेरो ध्यान लगभग उ माथै नै हुन्छ

बलजफ्ती उ आफुलाई
यताउती दौडाइ रहेको भान हुन्छ
गलेको शरीर जति चलायमान बनाए पनि
निर्दोष मुहारले
उ भित्र पैदा भइरहेको भाव स्पष्ट उतार्छ

जन्मजात गुण हो , वा
कलिलै उमेरमा थपिएको
बोझले सुत्न नदिएर हो
चिम्सा आँखा पुरै राता देखिन्छन्
कपाल बैजनी खैरो बनाएको छ
एक किशोरमा हुनुपर्ने उन्मादले
उस्लाई नि अछुतो कहाँ राख्थ्यो र
जबर्जस्ति मुस्काउनु खोजेको भान
मास्क बाहिर बाटै अनुभव गर्न सकिन्छ
सायद ग्राहक सन्तुष्ट पार्नु उस्को कर्तव्य हो

उस्लाई त्यो हालतमा देख्दा
आफ्नो बिगत याद आउँछ
नहेरम त्यहाँ पुग्दा यो नजर
त्यो क्याफे नचाहारी मान्दैन
मनभित्र कोलाहल र
सन्नाटा एकैचोटी मच्चिन्छ
लाइट हरियो भएर
गाडीले स्पिड पिकअप गरेपछि
त्यो मुहार सम्झिएर झन् बढी
काल्पनिक संसारमा डुबाउछ

कामलाई सानो ठुलो भन्न खोजेको हैन
जब परिस्थितिमा गाठो
अनि यथास्थितिमा शुन्यताले जकेड्छ
तब
यस्ता कलिला अनुहारहरू
रुन्चे हाँसो हासेर श्रम गर्न बाध्य हुनै पर्छ

थाहा छैन
प्रत्येक दिन यस्तै कति अनुहारहरु
सपनाका खाडल पुर्न
परिस्थितिका दास भइ
आफ्नो सुनौलो जिवनको आहुती दिन्छन्
अनि यो पनि थाहा छैन
यिनिहरुको श्रम र पसिना चुसेर
परजीवी धनाढ्य भनाउदाहरु
झन् कति धनी हुने ताकमा छन्

थाहा छैन
कलिलै उमेरमा हातमा ठेला उठाउने
कतिका सपना पूरा हुन्छन्
अनि कतिका सपनामै सिमित रहन्छन्
अनि यो पनि थाहा छैन
यो चक्र कहिलेसम्म चलिरहने हो

कतिले अरुलाई बदल्न खोज्छन्
कति आफै बद्लिन्छन समयानुसार
कतिले अरुको बारेमा सोच्छन
कतिले आफ्नै बारेमा सोच्न बिर्सिन्छ्न
कोहि युवा थिए सधैं रहिरहने छन्
कतिले कलिलै उमेरमा
जिम्मेवारीको बोझले
बुढ्यौलीको तान्तारो समाते
औकातले सपना एकछिनमै मार्छ
अनि मनले मलामी दिनहुँ गइराख्नु पर्छ

एक सुन्दर भविष्य सबैको निर्माण होस्
गलेको शरीर र कलिला हातहरुले
बालखैमा जिम्मेवारीको बोझ बोक्न नपरोस्
सके सहयोग गरौं
नसके हौसला दिउ
सबैको लागि
सधैंको लागि
एक सुन्दर बिहानीको सिर्जना गरौं।

Facebook Comments Box