घर मुनिको डिलमा बसि
एक आमा सधैं रोइ रहन्छिन्
बा आफ्नो अमिलो मुहार भित्र
दु:खको सागर लुकाइ दिन्छन्
पर्खाइमा अन्याय हुँदो र’छ
न्याय हुँदो हो त
पर्खाइ नै किन हुन्थ्यो र?
पर्खाइ अमुकको थियो
एक फर्की नआउने अस्तुको थियो
महाप्रस्थान गरेको आत्माको थियो
१० बसन्त काधमा खेलाएको बालाको थियो
एक मुटुका टुक्राको थियो
झुपडीको राजकुमारको थियो
एक भविष्यको दियोको थियो
गरिबीले सुख संग बाच्न दिदैन
न आनन्दले मर्न दिन्छ
भाग्य उसैको खोटो हुन्छ
जस्को लंगोटमा तुना हुँदैन
दैव त्यस्लाई हेप्छन
जस्को प्रतिवाद गर्ने सामर्थ्य हुँदैन
भगवान त्यस्तोलाई
महासागरको विचमा छोड्छन
जस्लाई आफन्तको साथ
किनारामा समेत मिलेको हुदैन
स्वार्थ मान्छेमा मात्रै कहाँ छ र?
अगरबत्ती बाल्ने पैसा सकिए पछि
दैव देब्रे पर्छन्
पूजाको समान किन्न नसके पछी
भगवान लात बजार्छन
धनिको प्रलय हुँदा शंखनाद हुन्छ
गरिबको सखाप हुन छिनभर लाग्दैन
ती आमा’बाको यस्तै भयो
अब छोरो कमाउला भन्ने दिनमा
पुत्र वियोगले छट्पटीनु पर्यो
बिहानको सुर्योदयलाई पुकार्ने कि
रातिका जुन तारालाई दुखेसो पोख्ने
टाढिएका आफन्तको ढोका ढकढक्याउने कि
देवतलका मठमन्दिर चाहार्ने
उपचार पाए बच्दो हो भन्ने दुखेसो रह्यो
मरेर जानेलाई बिर्सन सकिएला
तर यो चिमोटी रहने दुखेसो के गर्ने
घर अगाडीबाट एम्बुलेन्स हुइकिन्छ्न
तर गरिबीले हेर्न बाहेक अरु के गर्ने
मंगलमा बस्तिको कुरा छ
तर सिटामोल किन्न पैसा नहुनेले के गर्ने
शहरमा अपार्ट र
राजनीतिको खिचातानी छ
गाउँमा एक झुपडी नहुनेले के गर्ने