सुदूरपश्चिम समाजले सल्नालमा साँगीतिक कार्यक्रम गर्ने

कोरियाअपडेट

 

कामदार दैनिक
सिओल, कोरिया ।

कोरियामा रहेका सुदूरपश्चिमेली नेपालीहरूको एक मात्र साझा सामाजिक संस्था सुदूरपश्चिम समाज, कोरियाले आउँदो सल्नालका अवसरमा बृहद् साँगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

समाजका प्रवक्ता महेश बजगाईँले जानकारी गराए अनुसार आज नोभेम्बर 6 तारिखमा शिला रेष्टुरेण्ट सिओलमा बसेको बैठकले आउँदो अङ्ग्रेजी नयाँ वर्ष २०२३ को जनवरी 22 तारिखका दिन विभिन्न बिधाका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने गरी सामाजिक तथा परोपकारी उद्देश्य राखेर “सेती महाकाली साँगीतिक सौगात भाग-४ ” को आयोजना गर्ने निर्णय गरेको हो। उक्त कार्यक्रमका लागि सल्लाहकार एवं निवर्तमान अध्यक्ष यज्ञमान नायकको संयोजकत्वमा मूल समिति एवं विभिन्न उपसमितिहरू समेत गठन गरेर तयारी सुरु गरेको छ।

समाजका अध्यक्ष सन्तोष सुबर्णकारको अध्यक्षतामा बसेको बैठकमा कार्य समितिका पदाधिकारी, सदस्य एवं सल्लाहकारहरूको सहभागिता रहेको बैठकमा निर्वाचन समितिले पदाधिकारी एवं सदस्यहरूलाई प्रमाण पत्र समेत वितरण गरेको थियो।नेपाली मौलिक भाषा, कला र संस्कृतिको प्रचार प्रसार गर्ने एवं कोरियामा रहेका नेपाली दर्शकले भरपूर मनोरञ्जन लिने सक्ने भव्य कार्यक्रम आयोजना गर्ने लक्ष्य रहेको बैठकका सहभागी उपाध्यक्ष भीम जाग्रीले बताए। साथै समाजले उक्त दिन कार्यक्रम नजुझाइदिन कोरियामा रहेका सम्पूर्ण सामाजिक संघ संस्थाहरूलाई अनुरोध गरेको छ।


समाजले विभिन्न समयमा सामाजिक तथा मानवीय सेवा सहयोगका कार्यहरू गर्दै आइरहेको छ। कोरियामा आपद् बिपद्मा परेका नेपाली समुदायको हित र भलाइका लागि परोपकारी कार्यहरू गर्नेदेखि लिएर नेपालमा भूकम्प, बाढी पहिरो,आगलागी, सरुवा रोग महामारी जस्ता प्राकृतिक बिपत्तिका समयमा बेला बखत उद्धार र राहतका लागि सामाजिक अभियानहरू संचालन गर्दै आइरहेको छ। पछिल्लो पटक हालै आएको सुदूरपश्चिमका विभिन्न बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूका परिवारका लागि उल्लेख्य सहयोग जुटाएर हस्तान्तरण गरेको छ।

Facebook Comments Box