बासुदेव भट्ट
सिओल/ दक्षिण कोरिया ।
कोरियामा मृत्यु हुने कामदारहरुको शव नेपाल ल्याउदा लाग्ने सम्पुर्ण खर्च नेपाल सरकारले बेहोर्न माग राख्दै विभिन्न संघ संस्थाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापन पत्र बुझाएका छन्। नेपालमा रहि कोरियाली नेपाली समाजको विभिन्न क्षेत्रमा कार्यरत ब्यक्तिहरुले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री का राजनितिक सल्लाहकार हरिबोल गजुरेललाई ज्ञापन पत्र बुझाएका थिए।
सो ज्ञापान पत्र नेपाल सरकारबाट श्रम स्वीकृति लिइ बैधानिक रूपमा कोरियामा काम गरिरहेका नेपाली कामदारको हुने आपतकालीन मृत्युको विषयमा थियो। मृत्यु पश्चात् शव नेपाल लैजान जटिल हुने कारणको सहजको माग उक्त ज्ञापन पत्रमा गरिएको छ।
एउटा मृतकको शव नेपाल पुर्याउन एक करोड १३ लाख कोरियन वन अर्थात १२ लाख नेपाली रुपैया भन्दा धेरै खर्च लाग्ने गरेको छ। दूतावासले ५४ लाख अर्थात ५ लाख ४० हजार मात्र उपलब्ध गराउदै आएको उक्त ज्ञापन पत्रमा उल्लेख छ।
‘अपुग रकम मानवताको नाताले यहाँ रहेका विभिन्न नेपाली संघ संस्था तथा ब्याक्तित्वहरुले आर्थिक संकलन अभियानहरु चलाएरजेनतेन मृतकको शवहरु नेपाल पठाउदै आएको अवगत गराउन चहान्छौ,’ पत्रकामा उल्लेख छ, ‘ब्यक्तिगत तथा संस्थागत रुपमा गरिएका आर्थिक संकलनहरुबाट तत्कालीन रूपमा केहि समस्याहरू टरेको भएतापनी यो दीर्घकालीन समाधान भने पक्कै पनि होइन।’
ज्ञापन पत्र बुझाउन नेपाली जनसम्पर्क समिति कोरिया सभापति भजिन्द्र बहादुर क्षेत्री, नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका निवर्तमान अध्यक्ष रञ्जन राज कुवर, एनआरएनए कोरियाका पुर्व उपाध्यक्ष यदु लामिछाने प्रधानमन्त्री कार्यालयमा उपस्थिती जनाएका थिए।
गत बर्षको डिसेम्बरमा कोरियामा आवद्ध विभिन्न ६ वटा संघ संस्था तथा राजनीतिक दलका भातृ संगठन एवं नेपाल पत्रकार महासंघ कोरिया शाखाका अध्यक्षको समन्वयमा कोरिया स्थित नेपाली दूतावासमा पुगि संयुक्त ज्ञापन पत्र बुझाएका थिए।