कोरियामा मार्च १ अर्थात् ‘साम इल जल’ दिवस के हो र यो किन मनाइन्छ?

कोरियाअपडेट समाचार

-सन्तोष न्यौपाने

सौल/ दक्षिण कोरिया

आज मार्च १, कोरियामा #Samiljeol (#삼일절 / स्वतन्त्रता आन्दोलन दिवस वा मार्च १st आन्दोलन दिवस) भनेर पनि चिनिन्छ !
मार्च १ अर्थात् ‘साम इल जल’, किन मनाइन्छ कोरियामा यो दिवस किन मनाइन्छ त ?

दक्षिण कोरियामा हरेक बर्षको मार्च १ तारिखका दिन ‘साम इल जल’ का रुपमा देशभर सार्बजनिक बिदा दिने गरिन्छ। ‘साम इल जल’ अर्थात मार्च फर्स्ट मुभमेण्ट डे किन मनाइन्छ? आज यस बिषयमा चर्चा गर्दै जादा मार्च १ तारिख सार्वजनिक विदाको दिनमात्र नभएर यो दिन कोरियाका लागि धेरै महत्वपूर्ण दिन पनि हो। सन् १९१९ को मार्च १ तारिखबाट सुरु भएको यो आन्दोलनले नै कोरियालाई जापानको उपनिवेशबाट स्वतन्त्र पारेको थियो। दुवै कोरियामा हरेक वर्ष मार्च १ तारिखका दिन जापानको उपनिवेश विरुद्ध लडेर मुलुकलाई मुक्त बनाएको दिनको सम्झनामा स्वतन्त्रता आन्दोलन दिवस मनाउने गरिएको छ।

कोरियाली प्रायःद्वीपमा सन् १९१० देखि १९४५ सम्म जापानको साम्राज्य थियो। देशव्यापी स्वतन्त्रता आन्दोलनका क्रममा सन् १९१९ मार्च १ तारिखका दिन सात हजार ५०० कोरियाली नागरिक मारिएका थिए भने ५० हजार भन्दा बढी गिरफ्तार भएका थिए। सन् १९१९ मा फ्रान्सको राजधानी पेरिसमा भएको ‘पेरिस शान्ति सम्मेलन’ मा तत्कालिन अमेरिकी राष्ट्रपति वुडरो विल्सनले कुनै पनि देशलाई आत्मनिर्णयको अधिकार हुनुपर्ने कुरा बताए। यो कुराले धेरै कोरियनहरुलाई खुशी बनायो। उनिहरुले आफ्नो देश जापानीहरुको कब्जाबाट मुक्त हुन सक्छ भन्ने कुरा सोच्न थाले। त्यतिबेला जापानको टोक्योमा पढ्न गएका कोरियाली विध्यार्थीहरुले जापानी उपनिवेशबाट आफ्नो देश मुक्त हुनुपर्दछ भनि विज्ञप्ती समेत निकाले।

सन १९१९ मार्च १ तारिख दिनको २ बजे ३३ जना त्यतिबेलाका धार्मिक तथा साँस्कृतिक लिडरहरु मिलेर थेह्वाग्वान रेष्टुरेन्टमा भेला भइ कोरिया मुक्त भएको भनि सार्वजनिक रुपमा घोषणा गरे। सुरुमा उनिहरुले यो कार्यक्रम थापगोल पार्क वा पागोडा पार्कमा आयोजना गर्ने योजना बनाएका थिए। तर हुलदङ्गा तथा धरपकड हुन सक्ने आशङ्का गरी एक प्राइभेट रेष्टुरेन्टमा कार्यक्रम आयोजना गरे। उनिहरु यो कार्यक्रम शान्तिपूर्ण रुपमा कसैलाई चोटपटक नभइ हुलदङ्गा नभइ गर्न चाहान्थे। उनिहरुले त्यहाँका गभर्नर जेनेरललाई कार्यक्रमका बारेमा अग्रिम जानकारी समेत गराएका थिए। उनिहरुले प्रहरीलाई समेत आफैले खबर गरी समात्नु पर्ने भए आफूहरु जेल जान समेत तयार रहेको भनि जानकारी दिएका थिए।

प्यागोडा पार्कमा हजारौं कोरियन नागरिकहरु जम्मा भइसकेका थिए। आफ्ना नेताहरुको ब्यक्र प्रतिक्षा गरिरहेका उनिहरु कुनै नेता नदेखिएपछि एक जवान विध्यार्थी अगाडि बढि कोरिया जापानी उपनिवेशबाट मुक्त भएको भनेर पढेर घोषणा गरिदिए। त्यसपछि त्यहाँ शान्तपूर्ण रुपमा स्वतन्त्रताका लागि आन्दोलन भइरहेको थियो। यो देखिरहेको जापानी सेनालाई असह्य भएपछि आन्दोलन दबाउन बल प्रयोग गर्न थाल्यो।

यसरी देशभर स्वतन्त्रताका लागि आन्दोलनको आगो सल्क्यो। जापानी सेना तथा जापानीहरुले यो आन्दोलन नियन्त्रण गर्न सकेनन्। जापानले आफ्नो सेनालाई आन्दोलनको भिड हटाउन जथाभाबी बल प्रयोग गर्न आदेश दियो। शान्तिपूर्ण आन्दोलन दबाउन सेनाले बल प्रयोग गरेपछी ठूला ठूला सामूहिक हत्या तथा अत्याचार भयो। धेरै कोरियनहरु जापानी सेनाको हत्या हिंसा बलत्कार तथा कुटपिटको सिकार भए।

जापानीहरुको ज्यादति देखेका त्यसबेलाका विदेशी पत्रकारले बर्णन गरेका थिए कि जापानी प्रहरीले जिमरी गाउँका सबै कोरियनहरुलाई एउटा चर्चमा थुनेर बाहिरबाट आगो लगाइदिएका थिए। जब चर्च जलिरहेको थियो उनिहरुले चर्चको सबै झ्यालहरु बन्द गरिदिए ताकि कोहि पनि बाहिर निस्कन नपाउन।
झण्डै १५ सय वटा हिंसात्मक घटना भएको त्यसबेला जापानी प्रहरी र सेनाले करिब ७ हजार ५०० जना कोरियनको हत्या, १५ हजार ८०० लाई घाईते तथा करिब ५० हजार जनालाई अपहरण गरेका थिए। कोरियनहरुलाई अपहरण गरि सदेमुनको जेलमा थुनेर उनिहरुलाई तड्पाइ तड्पाइ मार्ने गर्दथे।
यसरी मार्च १ मुभमेन्टले कोरियाको स्वतन्त्रताको लडाइलाई एउटा उचाइमा पुर्यायो। सन १९२० को जुन महिनामा बोङदोङ मा कोरियन स्वतन्त्रता योध्दा र जापानी सेनाबिच ठूलो लडाइ भयो। त्यसैगरी १९२० को अक्टोबरमा मानछुरीयामा निर्वासित कोरियन स्वतन्त्रता योध्दा र जापानी सेनाबिच अर्को ठूलो लडाइ भयो। जापानी सेनाको ज्यादती र क्रुरताले गर्दा धेरै कोरियनहरु देश छाडेर चीन तथा रसियामा निर्वासित जिवन बिताउन बाध्य भए। निर्वासित अवस्थामा पनि उनिहरुले आफ्नो देशको स्वतन्त्रताका लागि आन्दोलन जारी राखे। १९१९ को अप्रिलमा निर्वासित अवस्थामै उनिहरुले चिनको साङघाईमा कोरियाको सरकार गठन गरे। उनिहरुले चीनमै कोरियन स्वतन्त्रता सेना गठन गरे जसलाई त्यसबेलाको चिनिया सरकारले अनुमति दिएको थियो।

कोरियामा पनि जापान बिरोधी गतिबिधी जारी रह्यो। सन १९४५ पछि जापान हार मान्दै गयो। उसले आफ्नो उपनिवेशलाई केहि खुकुलो पार्यो। सन १९४३ मा युके, अमेरिका र चीन मिलेर कोरिया स्वतन्त्र राष्ट्र हुनुपर्छ भनि सहमति गरे। सन १९४५ मा त्यसबेलाको सोभियत युनियनको सेना कोरिया झर्यो र उत्तरतर्फ कब्जा जमायो। सन १९४५ को अगष्ट १५ मा जापानले आत्मसमर्पण गर्यो। दक्षिण तर्फको क्षेत्रमा अमेरिकी सेनाले कब्जा जमायो भने उत्तर तर्फ सोभियत संघले। यसरी दुइ शक्ति राष्ट्रहरुको टकराबले कोरिया बिभाजित भयो। सन १९५० को जुन २५ बाट दुइ कोरियाबिच युध्द सुरु भयो।
यसरी सन १९१९ को मार्च १ बाटै सुरु भएको कोरिया स्वतन्त्रताको आन्दोलनले नै कोरियालाई जापानी उपनिवेशबाट मुक्त गर्न मार्ग प्रशस्त गरेको हुनाले यस दिनलाई कोरियामा बडो महत्वका साथ हेरिने गरिन्छ।

 

(लेखक सन्तोष न्यौपाने दक्षिण कोरियामा बसोबास गरि सामाजिक क्षेत्रमा सक्रिय सामाजिक अभीयान्ता हुन्। उनले EPS NEPAL FAMILY नामको प्रसिद्ध फेसबुक ग्रुप समेत संचालन गर्दै आएका छन् )

Facebook Comments Box