दक्षिण कोरिया ।
कोरियाको दक्षिणी भेग किम्हे सहरमा कोरियन नयाँ वर्ष सलनाल २०२५ को अवसरमा आयोजना हुने “झोर्ले सांगीतिक सौगात भाग २” को सम्पूर्ण तयारी पूरा भएको छ । डा.महावीर पुनद्धारा सञ्चालित नेपालको एकमात्र राष्ट्रिय आविष्कार केन्द्र नेपाल सहयोगार्थ उद्धेश्यका साथ यही जनवरी २८ तारिक (सलनालको पहिलो दिन) नेपाल मगर संघ किम्हे/बुसान शाखाको आयोजनामा किम्हे स्थित (김해시활천로 294 은석홀 은석문화 복지센터) सुविधा सम्पन्न हलमा सो कार्यक्रम गर्ने भएको हो ।
नेपाली गीतसंगीतको दुनियाँमा पप, आधुनिक तथा गजल विधाका चर्चित गायक शिव परियार, नेपाली लोक तथा दोहोरी क्षेत्रमा थुप्रै हिट गीत गाइसकेका खेम सेन्चुरी र विमता घर्ती मगर, मोडेल तथा डान्सर सुन्दर घलान, डान्सर देवी गर्बुजा मगर जस्ता राष्ट्रिय कलाकारहरु सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने जानकारी दिदै कार्यक्रम चुस्त, दुरुस्त र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न ब्यापक तयारी लगभग पूरा भइसकेको संस्थाका अध्यक्ष दिल तारमी मगरले बताए । उत्कृष्ट सांगीतिक प्याकेज मार्फत् मनोरञ्जनसँगै प्रवासबाटै देशको समुन्नति र विकासमा विशेष टेवा पुऱ्याउने प्रयासलाई कोरियामा रहेका नेपाली समुदाय जोडिने विश्वास संस्थाका महासचिव असिम पुन मगरले व्यक्त गरे । यसभन्दा अगाडि २०१८ फेब्रुअरी १५ मा “झोर्ले सांगीतिक सौगात भाग १” ब्यापक रुपमा सम्पन्न गरेको बताउँदै यसपटक पनि उत्कृष्ट सांगीतिक प्याकेजसँगै अझ ब्यापक बनाउन कुनै कसर नराख्ने कार्यक्रम संयोजक धन सलामी मगरले जिकिर गरे ।
नेपाल मगर संघ किम्हे/बुसान शाखाले आयोजना गर्ने उक्त “झोर्ले सांगीतिक सौगात भाग २” लाई सभ्य र भव्य रुपमा सफल पार्न कोरिया स्थित सम्पूर्ण संघसंस्था एवं नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्नुहुन र विशेष गरेर किम्हे क्षेत्रमा सो दिन अन्य कार्यक्रम आयोजना गरेर कार्यक्रम नजुधाई दिनुहुन आयोजक आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ ।