– जीतेन्द्र सिंह महता
करिब एक दुई महिना अगाडि एक जना दाइले मलाई कल र म्यासेज गर्नु भएको थियो। उहाँ ईपीएस मार्फत करिब ५ वर्ष कोरियामा काम गरेर नेपाल फर्किनु भएको थियो । उहाँले फेरि कोरिया आउने ईच्छा जाहेर गर्दा गर्दै उमेर ४० कट्नु भएको रहेछ। यहीँ सिलसिलामा कोरियामा E-7 कामदार लैजाने हल्ला चल्यो । उहाँलाई एक जना वैदेशिक रोजगारमा कोरिया पठाउने भनेर एजेन्ट फेला परेको रहेछ। एजेन्टले कोरियामा काम गर्ने कम्पनीको बारेमा बताएर एक जना साहु भनिएको कोरियनलाई कोरियाबाटै अन लाईन मार्फत जोडाएर कम्पनीमा ५० जना कोटा छ, कम्पनीको नम्बर, ठेगाना भन्दै उहाँसहित अन्य साथीहरूको अन्तर्वार्ता गरेर अब सम्झौता गर्नु पर्यो, लागतको कुराकानी १०-१५ लाख नेरु को कुरा गरेको रहेछ। त्यहीँ बिचमा उहाँ दाजुले त्यो कम्पनी अनि कामको बारेमा बुझी दिनु पर्यो भनेर मलाई सम्पूर्ण कागजात पठाउनु भयो। मैले त्यो कम्पनीका सौल र ख्यङ्गिदो गरि दुईटा नम्बरमध्ये एउटामा डायल गर्दा यो नम्बर नै छैन भनेर भन्यो र अर्कोमा गर्दा तपाईले भनेको यो कम्पनी होइन अरु कुरा बुझ्दै जाँदा नेपालबाट E- 7 भिषामा ( दक्ष) कामदार ल्याउने वा त्यो सम्बन्धि हामीलाई थाहा छैन भनेर भन्यो।
मैले त्यो कम्पनीको मालिक र एजेन्टले दिएको ठेगाना, फोन नम्बर, अन्य विवरण तत्कालीन नेपाली राजदूतवास सिओलका नियोग उप- प्रमुख पुष्पराज भट्टराई र द्वितीय सचिव जेनिम अधिकारी सरलाई पठाएर यो विषयमा मैले बुझ्न र नेपालीलाई यसरी थप नठगीउन भन्नका लागि सतर्कता अपनाउन अनुरोध पनि गरेको थिए।
त्यसपछि केही साता अगाडि मात्र कोरियामा दक्ष कामदार लैजाने भयो भनेर एक जना भाषा परिक्षा फेल भएर बसेकालाई प्रोसेस खर्च भनेर एउटा एजेन्टले १ लाखका दरले पैसा बुझाएको भन्ने मलाई खबर मलाई आयो। मैले यो विषय नेपाल पत्रकार महासंघ कोरिया शाखाको अन्तक्रिर्या कार्यक्रममा उठान गरेर श्रम काउन्सेलर मैयाँ कंडेल म्याडमले जवाफ दिदै हाललाई कोरियामा ईपिस ( E- 9 भिषा) कामदार बाहेक सम्झौता नभएको र विद्यार्थी भिषा बाहेक अन्य E-7 भिषाको कुरामा भ्रम नपर्न हुन सचेत गराउनु भएको थियो। यसबाट स्पष्ट हुनु जरुरी छ कि नेपाल र कोरिया सरकार बिच हाललाई E-7 भिषामा कामदार ल्याउने सम्बन्धि कुनै पनि सम्झौता भएको छैन।
यस्ता ठगीका घटना वैदेशिक रोजगारमा प्रतिनिधिमूलक हुन । त्यसकारण प्रक्रिया बुझेरमात्र विश्वासिलो नेपाल सरकारले तोकेको मापदण्डबाट ईजाजत प्राप्त संस्थाको सहारा लिनुपर्छ ।
ठगिएपछि पुर्पुरोमा हातमा लगाउनु र समस्या परेपछि उद्धार, सहयोगका लागि हारगुहार गर्नुपर्ने अवस्था आउनुपूर्व नै वैदेशिक रोजगारीमा जानु पूर्व सो सम्बन्धि सही जानकारी, सूचना थाहा पाउनु जरुरी छ। यसमा स्वयं व्यक्ति अझ जिम्मेवार भएर बुझ्नु अत्यावश्यक छ।
नेपालमा रोजगारीको पर्याप्त अवसर सिर्जना हुन नसक्दा प्रत्येक वर्ष लाखौं युवा वैदेशिक रोजगारमा जाने गरेका छन् । बाध्यतावश चर्को व्याज दरमा साहुको रिन लिएर जाने गरेका र त्यहीँ रिन लिएको पैसा पनि वैदेशिक रोजगारका बारेमा यथार्थ नबुझी दलालको फन्दामा परी ठगी भएर घर न घाट भएका कयौं घटनाहरु छन् ।
वैदेशिक रोजगारीमा हुने ठगीबाट सत्यतथ्य सूचना लिएर आफू पनि बचौँ अरुलाई पनि ठगिनबाट बचौँ भन्ने अभिप्रायले यो लेख लेखेको छु आशा छ वैदेशिक रोजगारमा जाने साथीहरुलाई अवश्य राहत मिल्नेछ । वैदेशिक रोजगारमा जानुपूर्व ध्यानदिनु पर्ने केही महत्वपूर्ण कुराहरुलाई बुँदागतरुपमा लेखेको छु।
१.नेपाल सरकारबाट ईजाजत प्राप्त म्यानपावर कम्पनी भएको तर दर्ता खारेज भएको/ नभएको बुझ्ने।
२. संस्थागत प्रक्रियाको अवलम्बन गरी वैदेशिक रोजगारीमा जाँदा इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीले नै आवश्यक प्रक्रिया सहजीकरण अगाडि बढाउने गर्छन्।
३. सम्बन्धित म्यानपावरमा गई कुन देशको माग( डिमाण्ड) हो, कामको बारेमा, लागत अनि सेवा/ सुविधा सम्बन्धि राम्ररी बुझ्ने।
नेपाल सरकारले बै. रो. मा जान दिएका देशहरुमात्र ।
४. नेपाली कूटनीतिक नियोगबाट डिमाण्ड प्रमाणीकरण भए/ नभएको बुझ्ने ।
ओरिजिनल डिमाण्ड लेटरमा प्रमाणीकरण भएको सम्बन्धित कार्यक्रमको छाप र अधिकारीको हस्ताक्षर हुन्छ।
५. वैदेशिक रोजगार कार्यालयबाट पूर्व स्वीकृति लिई राष्ट्रिय दैनिकमा विज्ञापन गरे/ नगरेको बुझ्ने ।
विज्ञापन अनिवार्य नै गरेको हुनुपर्छ ।
६. व्यक्ति छनोट गर्ने तरिका कामको प्रकृति हेरेर हुन्छ।
सामान्य खाडी मुलुकको काम छ सम्बन्धित म्यानपावरले नै छान्छ । यदि राम्रो दक्ष काम र दाम राम्रो छ भने सम्बन्धित देशको कम्पनी प्रतिनिधिले प्रत्यक्ष छनौट गर्दछ।
७. अन्तर्वार्ता पास भएपछि भिषा प्रक्रियाको काम सम्बन्धित म्यानपावरले गर्छ।
८. भिषा आईसके वा लागि सकेपछि हो, होइन शंका छ भने पछि बुझ्ने कतैको पेपर भिषा हुन्छ भने कतै पासपोर्ट मै छाप हुन्छ ।
सम्बन्धित देशको अध्यागमनको वेबसाईटमा अन चेक गर्न मिल्ने वा राजदूताबासमा सक्कली वा नक्कली बारे बुझ्न सकिन्छ ।
९. श्रम स्वीकृतिका लागि अनलाइन फारम,सरकारले तोकेको अभिमुखीकरण संस्थामा गई अभिमुखीकरण, स्वास्थ्य परीक्षण, म्यादी बीमा र वैदेशिक रोजगार कल्याणकारी कोषमा बुझाउने रकम तथा अनलाइन फाराम भर्न पनि म्यानपावर कम्पनीबाट सहजीकरण गर्छन।
१०.व्यक्तिगत प्रक्रियाबाट जाँदा व्यक्ति आफैंले नै प्रक्रिया अगाडि बढाउनुपर्छ। यसको लागि आवश्यक प्रक्रियाका सन्दर्भमा वैदेशिक रोजगार विभागको कार्यालयमा बुझेर कार्य गर्नुपर्छ।
बुँदा नं. ९ मा उल्लेखीत श्रम स्वीकृतिदेखी सबै कार्य स्वयंले नै गर्नुपर्छ।
११.व्यक्तिगतरुपमा भनेको कुनै साथी, आफन्त वा कम्पनीले नै रोजगारीका लागि भिषा पठाई दियो भने श्रम स्वीकृति लिँदा आवश्यक तयार गर्नु पर्ने कागजातहरू पासपोर्ट, भिसाको प्रतिलिपी, रोजगारको सम्झौता, स्वास्थ्य परीक्षण प्रमाणपत्र, अभिमुखीकरण लिएको प्रमाणपत्र, सीपमूलक रोजगारमा जान सीप सिकेको प्रमाणपत्र, म्यादी जीवन बीमा र कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण लगायत आवश्यक पर्छन। रोजगारदाताले बै. रो. विभागमा ईमेलमा पठाउनुपर्छ आजकल धेरै कुराहरु अनलाईनबाटै हुने हुनाले पहिला पहिलाको जस्तो झन्झट छैन।
कागजात थपघट पनि हुन सक्छन् वैदेशिक रोजगार विभागमा गई थप राम्ररी बुझेर गर्न सकिन्छ ।
व्यक्तिगत श्रम स्वीकृति लिने बेला नेपाली राजदूतावासमा रोजगारदाता कम्पनीले पेश गर्नुपर्ने कागजातहरू भिसाको प्रतिलिपि, सम्झौतापत्रको प्रतिलिपि लगायत केही कागजात हुन सक्छन् त्यो वैदेशिक रोजगार विभागमा बुझेर प्रक्रिया अगाडि बढाउने।
१२.जान खोजेको देशको बारेमा सकेसम्म भाषा, संस्कृति, कानुन, ईत्यादी केही थप कुरा जाने “सुनमा सुगन्ध” बसाई सहज हुन्छ।
सुरुदेखि अन्त्यसम्मका सबै प्रक्रिया पूरा गरि नेपालको पासपोर्ट हातमा लिएर नेपालकै अन्तरास्ट्रिय एयरपोर्ट गएर साथमा जुन देश जाने हो त्यसको टिकट, भिषा,रोजगार सम्झौता पत्र, स्वास्थ्यको प्रमाणपत्र, बीमा, श्रम स्वीकृति, ईत्यादी आफूलाई आवश्यक कागजात तयार गरि गन्तव्य तर्फ लाग्ने।
“जुन देशको पासपोर्ट त्यहीँ देशको एयरपोर्ट प्रयोग गर्ने ” भारत( दिल्ली ) भएर नजाने, श्रम स्वीकृति अनिवार्य लिएर जाने।
म कुनै विज्ञ त होईन आफूले थाहा पाएको, बुझेको कुरा विदेश जान खोज्ने हरेक नेपाली ठगीबाट बचुन भनेर फुर्सद मिलाएर लेखेको हुनाले यसमा केही कुराहरु थपघट वा कमीकमजोरी हुन सक्छन् । सत्यतथ्य सूचना एवं जानकारी लिएर मात्र वैदेशिक रोजगारमा जादा ठगीबाट बच्नुका साथै विदेशको बसाईमा केही सहज भने पक्कै हुन्छ।
( लेखक – सकृय सामाजिक अभियान्ता बौद्धिक युवा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका उप- सभापति एवं विभिन्न संघसस्थमा महत्वपूर्ण भूमिकामा हुनुहुन्छ।)