लघुकथा:बाहिरी दाँत

साहित्य

शम्भुप्रसाद निरौला
छिटोछिटो दौडँदै छु-फाप्लु पुग्नु छ।जाडाले कानका लोती चिसिए पनि जिउमा ताताको अनुभव छ।हात पाइन्टका गोजीमा ख्याप्पै घुसारेको छु।अरुहरूले पनि तेसै गरेका छन्।मुखबाट सेता बाफका मुस्ला छुटाउदै मान्छेहरू यताउता गर्दै छन्।सुकेका हिउँका माम्रीमा खुट्टाले टेक्दा कर्याककर्याकको सङ्गीत बज्छ।बाटाका छेउछेउका हुटेलभित्र मान्छे खचाखच छन्।लाग्छ-“विद्युतीय जल”ले सबैलाई वशीभूत पारेको छ।उसको साम्राज्य अति सुरक्षित छ।
कहिले तल्लापट्टि र कहिले माथ्लापट्टि हेर्दै म अघि लम्किँदै छु।जतिजति म अघि बढ्छु उतिउति मेरा कानमा माइक बजेको आवाज अाउँछ। शब्द बुझ्दिन।ध्वनि सुन्छु।
“कता हाै निराैलाजी?”माइला साहुका घरनजिकै पुग्दा एकजना मित्रले साेध्छन्।
“फाप्लु जाऊँ भनेर” नउभी उत्तर दिन्छु।
“ए!अाज बिदा छ त।”उनी यसाे भन्दै हुटेलभित्र छिर्छन्।
म विस्मित् हुन्छु।बिच्चै अाएँछु जस्ताे लाग्छ।मेराे हिँडाइ ढिलाे हुन थाल्छ।सभाहलमा के कार्यक्रम छ सुन्नु पर्याे भन्ने हेतुले माइक बजेतिरै पाइला बढाउछु।
परैबाट देख्छु;स्वागत लेखिएको रातो तुल टाँगिएको छ।अर्कोमा `भाषा तथा संस्कृति संरक्षणसम्बन्धी विचार गोष्ठी´को तुल छ।
एउटा माइक सभाहलको बाहिरै तेर्साएकाले भित्रका वक्ताको बोली प्रष्टै सुनिन्छ।
पसलबाहिर राखिएको सानो टुलमा टुसुक्क बस्छु।कार्यक्रम अन्तिम चरणमा पुगेको रहेछ।म बस्नु र तालीको पर्रा छुट्नु एकैसाथ हुन्छ।
उद्घोषक उद्घोषण गर्छन्,”अब म आजका प्रमुख अतिथि जसिहाङ थिङलाई आफ्नो मन्तव्य राखिदिनुहुन मञ्चमा आमन्त्रण गर्दछु।”
ताली बज्छ।सम्बोधन हुन्छ।विषयको उठान हुन थाल्छ।बिस्तारै स्वर उच्चतातिर लम्किँदै जान्छ।उनी जोसिएर भन्छन्……………”हेर्नुहोस् भाषा मर्नु हुन्न।संस्कृति हाम्रो चिनारी हो।हाम्रो भाषा संस्कृतिलाई ध्वस्त पार्न लागिएको छ।संस्कृति जोगाएर सन्तानलाई हाम्रो सभ्यता कला जीवन- दर्शन चिनाउँनुपर्छ।हामीले मौलिक परम्पालाई जोगाएनौ भने हाम्रो जातीय पहिचान सकिन्छ।संस्कारलाई जोगाऔँ।कमसेकम आफ्ना नानीहरूसँग आफ्नै मातृभाषामा बोलौँ।नानीहरूको नाउँ राख्दा आफ्नो जातीय चिनारी झल्किने नाउँ राखौँ।अर्काको संस्कृतिको पिछलग्गु नबनौँ…………।”
मन्तव्य लामो छ।बिचबिचमा ताली बज्छ।म टुलबाट जुरुक्क उठ्छु।आङ्तान्छु।पसिना ओभाएकाले धेरै जाडो हुन्छ।हुटेलभित्र छिर्छु।चिनेका मान्छे भेटिन्छन्।चियाचमेना लिन्छु।
कार्यक्रम सकिएछ।मान्छे ग्वारारा निस्किन्छन्।हुटेलभित्र आवतजावत बढ्छ।म त्यहीँ रात कटाउने विचार गर्छु।
एकजना प्रमुख अतिथि लेखिएको बिल्ला छातीमा टाँसिएका मान्छे भित्र पस्छन्।उनी भित्र पस्ता हुटेले सजग हुन्छ।उनी सटासट माथि उक्लिन्छन्।हुटेले पछिपछि लाग्छ।उनको पनि वास यहीँ रहेछ।उनका सहयोगी पनि क्रमश: माथि उक्लिन्छन्।”बिजुलीकान्ते द्रव” र सोको सितन(टिपुवा)उँभै उकालिन्छन्।
म कुक्रुक्क परेर तलै एउटा कुनामा छु।दिन बितेकाले रात अझ बढी चिसो बोकेर बलियो हुँदैछ।
भातमा हात हाल्ने बेला भएकाले माथिका तलै आमन्त्रित हुन्छन्।थलो फराकै हुनाले सबै अट्छौँ।
मनतातो पनीले हात धोएपछि भिजेका सबै जनाका हात थालकाे ताता भातमा परेड खेल्न थाल्छन्।
सुत्ने तरखर हुन्छ।माथिकाे सानाे काेठामा म पठाइन्छु।जुतामाेजा मात्रै फुकालेर म पर्लक्क पसारिन्छु।
म सुते उतापट्टिका काेठामा अघिका प्रमुख मान्छे सुतेका रहेछन्।फलेकले बारेकाे काेठा हुनाले उनले बाेलेकाे म सुन्न सक्छु।
निदाएँछु झपक्क।बार बजेतिर बिउझेँछु।मुत्र त्याग गराैँ जस्ताे लाग्याे।गएँ शाैचालय।अाएँ ।सुतेँ।
चिसाले निद्रा छैन।खुट्टा खुम्च्याएकाे छु।सिरकले मुख छाेपेकाे छु।पल्ला काेठामा माेबाइलकाे घन्टी बज्छ।”हेलो”ती मान्छे फोन उठाउँछन्।उताबाट आउने आवाज सुन्दिन।यताबाट बोलेका वाक्यहरू यस्ता छन्:
“ए यो नाइटमा किन फोन गरेको छोरा ड्यानियल?
कस्तो छ तिम्रो स्टडी?ए,अँ म्याथमा ए प्लस!अँग्रेजीमा पनि ए प्लसै!गुड!गुड!माइ सन!दार्जिलिङ्को डन बस्को स्कुल धेरै राम्रो छ नि!त्यै भएर तिमीलाई एडमिट गराएको।
अँ तिम्रो ममलाई ठिक छ।फेब्रुअरी 17मा तिम्रो बर्थ डे हो।राम्रो होटलबाट केक मगाएको छु।तिमीले चुच्चेटोपी लगाएर केक काटेको कस्तो रमाइलो हुन्छ।
अँ, ए हो, ल ल!म प्रिन्सिपललाई भनिहाल्छु नि!
यता मेरो आइएनजिओ राम्ररी चल्दै छ।तिमीले खर्चको चिन्ता लिनुपर्दैन।
ल ल,गुड नाइट!”
म छक्क पर्छु।दिउँसो उनले भाषण गरेका कुरा र अहिले छोरासँग फोनमा बोलेका कुरा पालैपालो सम्झिन्छु।
खुट्टा तनक्क तन्क्याएर लामो सास तान्छु।खुट्टा तात्लान् जस्ता छैनन्!

Facebook Comments Box