बिपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार द्वारिका श्रेष्ठलाई प्रदान गरिने

साहित्य

काठमाडौँ, १७ भदौ : जननायक विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा स्थापना गरिएको बिपी कोइराला स्मृति साहित्य पुरस्कार वरिष्ठ साहित्यकार द्वारिका श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

जननायक बिपी कोइराला स्मृति ट्रष्टको आइतबार बसेको कार्यसमिति बैठकले यसवर्ष बिपी कोइराला स्मृति साहित्य पुरस्कार काठमाडौँका ८९ वर्षीय द्वारिका श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिनुभयो ।

उक्त पुरस्कारको राशि नगद रु एक लाख एक हजार र सम्मानपत्र रहेको छ । यस्तै, ट्रष्टले यस वर्षको बिपी कोइराला स्मृृति प्रजातन्त्र सेनानी सम्मान प्रजातन्त्र स्थापनाको सङ्घर्षमा महत्त्वपूर्ण योगदान पुर्‍याउने कास्कीका ९० वर्षीय भोजराज भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त पुरस्कारको राशि रु ५१ हजार तथा सम्मानपत्र रहेको छ । दुवै सम्मान पुरस्कारहरू बिपी कोइरालाको १११औँ जन्मजन्तीका अवसरमा प्रदान गरिने महासचिव पोखरेलले बताउनुभयो ।

दुवै सम्मान तथा पुरस्कार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भदौ २४ गते राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने बताइएको छ ।

गतवर्ष बिपी कोइराला स्मृति साहित्य पुरस्कार जनकपुरका डा राजेन्द्र विमल र बिपी कोइराला स्मृृति प्रजातन्त्र सेनानी सम्मान रुपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मालाई प्रदान गरिएको थियो । उक्त पुरस्कार तथा सम्मान २०७१ देखि निरन्तर प्रदान गरिँदै आएको छ ।

Facebook Comments Box