नेपाल मगर महिला संघ रुपन्देहीले मंसिर २१ र २२ गते प्रथम मगर साहित्य महोत्सव गर्ने भएको छ ।
सचिवालय सदस्य तथा प्रचारप्रसार समितिका संयोजक यम रानाका अनुसार मंसिर ५ गते प्यानल डिस्कशनको विषय छनोट तथा पात्रका बारेमा तयारी बैठक, ८ गते स्वयम्सेवकका लागि अभिमुखीकरण, मंसिर १२ गते आयोजक समितिको पूर्ण बैठक तथा मंसिर १६ गते पत्रकार सम्मेलनलगायतको कार्यतालिका तयार भएको छ ।
मगर समुदायको भाषा, साहित्य, इतिहास र परम्परको संरक्षणमा टेवा पुग्नेगरी आयोजना गरिने सम्मेलनमा कविता वाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचीन सामग्रीहरुको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिनेछ ।
महोत्सव प्रचारप्रसार समितिका संयोजक रानाका अनुसार देशभरका मगर साहित्यकार, कलाकार तथा फरक फरक विधाका व्यक्तित्वहरुको सहभागिता रहनेछ । सम्मेलन आयोजनाका लागि १०१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ ।
सम्मेलन सफल बनाउन प्रवासमा रहेका नेपालीहरुलाई जोड्न १ दर्जनभन्दा बढी देशहरुमा उपसमिति गठन गरी तयारीलाई अघि बढाइएको उहाँले जानकारी दिनुभयो । महोत्सवमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काइके गरी ३ वटै भाषामा कविता वाचन प्रतियोगिता हुने महोत्सव मूल आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिनुभयो।
उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिनेछ । यसैगरी सान्त्वना हुने दुई जनालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । सम्पूर्ण सहभागीलाई प्रोत्साहनस्वरुप नगद राशिले सम्मान गरिने गाहाले जानकारी दिनुभयो ।
सम्मेलनमा आदि कवि जितबहादुर सिंजाली मगर साहित्य पुरस्कार र गोरेबहादुर खपाङ्गी मगर सामाजिक पुरस्कार स्थापना गरी सम्मान गरिने महोत्सव मूल आयोजक समिति संयोजक तथा नेपाल मगर महिला संघ रुपन्देहीकी अध्यक्ष निर्मला थापाले जानकारी दिनुभयो ।