काठमाडौँ, ८ मङ्सिर : समालोचक प्राडा गोपीन्द्र पौडेलको नियात्रासङ्ग्रह ‘यात्राको धुन’ को आज काठमाडौँमा लोकार्पणसँगै पाठकमैत्री भेटघाटमा समीक्षा गरिएको छ । भुँडीपुराणले प्रकाशन गरेको उक्त नियात्रासङ्ग्रहको वरिष्ठ आख्यानकार तथा नियात्रा लेखक हरिहर खनालले लोकार्पण कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । प्रगतिशील लेखक सङ्घ नेपालको आयोजनामा भएको उक्त समारोहमा समालोचक विष्णु ज्ञवालीले अमेरिका, भारत र युरोपका विभिन्न १० देशमा घुमेर लेखक पौडेलले लेख्नुभएको नियात्रासङ्ग्रह ‘यात्राको धुन’ ले आफू विदेश नगए पनि विदेश भ्रमण गराएको भन्दै लेखकलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “समालोचक पौडेल नियात्राकार बनेर आउनुभएको छ, यो कृतिमा मैले विविधता देखेँ, विदेश भ्रमणका विषय उल्लेख गर्नुभएको छ, बेलाबेलामा उहाँले यात्रामा नेपालको प्यूठान लानुहुन्छ, त्यहाँको भिर, पाखा, पखेराको अनुभूति दिलाउनुहुन्छ, जसले उहाँको यो लेखनमा विविध रङ भरिएको महसुस गरेको छु ।” अर्का समीक्षक नन्दु उप्रेतीले लेखकले पुस्तकमा स्मृति पीडा, स्मृति खुसी, स्मृति चञ्चलता र स्मृतिबाट पाउने आनन्द सबै कुरा पाएको आफूले महसुस गरेको बताउनुभयो । उहाँले कतिपय अवस्थामा अब्राहम लिङ्कनको सन्दर्भ ल्याउँदा पुस्तकमा उनका भनाइहरू राखेको भए…, भन्ने महसुस गराएको बताउँदै नेपाल र विदेशको विकास र सडकको तुलना गर्नुभन्दा नेपाल पनि यस्तै भएपछिको अनुभूति राखिदिएको भए पुस्तक अझ सशक्त हुने विचार राख्नुभयो ।
नियात्राकार जय छाङ्छा राईले मूर्त मात्रै नभई अमूर्त चीजको पनि यात्रा हुने सन्दर्भ जोड्दै नियात्राको ढुकुटीमा एउटा राम्रो कृति थपिएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नियात्रालाई कल्पनाशीलताले दह्रो बनाउँछ, विदेशका ठाउँठाउँमा बनेका सुरूङमार्गलाई नेपालका खेतबारीमा कुद्ने मुसाको दुलोसँग कल्पना गर्दै जोडेर उहाँले सुन्दर रूपमा प्रस्तुत गर्नुभएको छ, ठाउँठाउँमा कल्पना पनि भर्नुभएको छ, यो राम्रो पक्ष हो ।” कार्यक्रममा भाषा आयोगका सदस्य गोपाल अश्कले ‘यात्राको धुन’मा पनि उहाँले आफ्नो पुँजीवादलाई हेर्ने दृष्टिकोण स्पष्ट उल्लेख गर्नुभएको बताउनुभयो । अमेरिकालाई सपनाको सहर भन्ने सुनिँदै आएकामा लेखकले विपनाको सहरका रूपमा परिभाषित गर्दै ह्वाइट हाउसलाई मात्र एउटा सेतो दरबारका रूपमा चित्रण गर्नुभएको उहाँले सुनाउनुभयो । त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्रमुख प्राडा कृष्णप्रसाद न्यौपानेले नेपाली साहित्यको भण्डारमा नियात्राको नयाँ कृति थपेकामा लेखक गोपीन्द्र पौडेललाई धन्यवाद दिनुभयो । नेपाल प्रज्ञप्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले लेखक पौडेल सुरूआती चरणमा उहाँले सुरू गर्नुभएको निबन्ध र सिर्जनामा फर्किनुभएको आफूले पाएको बताउनुभयो । प्रगतिवादी साहित्यकार एवं संस्कृति चिन्तक ईश्वरचन्द्र ज्ञवालीले समालोचक पौडेलका कृति, समालोचना, सिर्जना हेर्दा धेरै गहिरो अध्ययन भएका स्रष्टा आफूले पाएको स्मरण गर्दै यस नियात्रासङ्ग्रहमा समालोचकीय, निबन्धात्मक र यात्रा एवं सिर्जनात्मक प्रवृत्ति समागम भएको बताउनुभयो । अहिलेसम्म सातवटा समालोचना प्रकाशन गरिसक्नुभएका लेखक गोपीन्द्र पौडेल पाठ्यक्रम विकास केन्द्रलगायत विभिन्न सरकारी निकायको नेतृत्वमा पुगेर अनुभव सम्हालिसक्नुभएको छ । उहाँले विसं २०५६ सालमा कामरेडमा नाउँ दरिएन (ब्याङ्ग्य निबन्ध) बाट लेखनयात्रा सुरू गर्नुभएको थियो । समारोहमा लेखक पौडेलले उठेका जिज्ञासा मेटाउँदै भन्नुभयो, “सर्जक पाठकका अनुभूतिसँग खेल्न सक्नुपर्छ, आफूले यस कृतिमा त्यही प्रयास गरेको छु, भएका कमजोरी स्वीकार्छु र सुधार गर्दै लैजान्छु ।” उहाँले समालोचना छाडेर नियात्रातिर लाग्नुभएको त होइन भन्ने लेखक साहित्यकारबाट आएको आशङ्का मेट्दै यो विभिन्न देश भ्रमण गर्दाको नियात्रासङग्रह भएको तर आफू समालोचना लेखनबाट नथाकेको बरू कृति ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले व्यङ्ग्य निबन्धमार्फत २०५६ सालबाट लेखनमा प्रवेश गरेको जानकारी गराउँदै सातवटा समालोचना लेखेर यो नियात्रासङ्ग्रह ल्याएको जानकारी गराउनुभयो । लेखक पौडेलले विदेशमा घुमिरहँदा वा न्युयोर्कको टाइम्स स्क्वायरमा घुमिरहँदा देखिएको नग्न संस्कृतिलगायत सबै चीजप्रति आफू संवेदनशील भएको पनि बताउनुभयो । नेपाल र विदेशको तुलनाका सन्दर्भमा उठेको जिज्ञासामा उहाँले आफूले नकारात्मक रूपमा नभई त्यहाँको विकासको दाँजोमा हामी पुग्न सकेनौँ मात्रै भन्न खोजेको बताउनुभयो । उहाँले आफ्नो माटोलाई उपेक्षा नगरिएको पनि दाबी गर्नुभएको छ । समारोहमा प्रगतिशील लेखक सङ्घ नेपालका अध्यक्ष डा मधुसूदन गिरीले लेखक पौडेललाई नयाँ कृति ल्याउनुभएकामा बधाई दिँदै अझै धेरै पुस्तक पढ्ने इच्छा रहेको बताउनुभयो । उहाँले पुस्तक जथाभावी निस्कने क्रमलाई रोक्नका लागि पनि राम्रो समालोचना जरूरी रहेको र स्वच्छ आलोचना हुनुपर्नेमा जोड दिनुभयो । वरिष्ठ आख्यानकार एवं नियात्रा लेखक हरिहर खनालले लेखक पौडेललाई नयाँ कृति ल्याएकामा बधाई दिँदै आफूले पनि केही कृति बजारमा ल्याउन लागेको जानकारी गराउनुभयो । समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव प्रा जगतप्रसाद उपाध्यय, प्रगतिशील लेखक सङ्घका उपमहासचिव बालमुकुन्द कार्की, प्रा तेजविलास अधिकारीलगायतले लेखक पौडेलको व्यक्तित्व र कृतिबारेमा चर्चा गर्नुभएको थियो ।
Facebook Comments Box