‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’

साहित्य

काठमाडौँ, ९ मङ्सिरः लेखक तथा अनुवादक मञ्जुश्री थापाले नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा सञ्चारिका समूह नेपाल र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको ‘साहित्यमा नारीवादः नयाँ दृष्टिकोणको खोजी’ विषयक छलफल तथा अन्तरक्रियामा उहाँले महिलाको भाषा र चुनौतीबारे साहित्यमार्फत उठान गर्नुपर्ने बताउनुभभयो । लेखक थापाले भन्नुभयो, “महिलाको भाषा के हो ? शब्द के हो ? यही नै चुनौती नयाँ आउने महिला लेखकले उठाउनुपर्छ ।”

उहाँले नेपाली साहित्यमा ‘नेपाल’ नै आउन नसकेको जिकिर गर्नुभयो । “साहित्यमा एउटै जात र पुरुषको बोलवाला छ । उनीहरूकै कृति र कथाहरू छन् । महिलाभित्रको इच्छा र जटिलता झल्किन नसक्ने कृति पाएको छैन”, थापाले भन्नुभयो,

लेखक तथा प्राध्यापक अरुण गुप्तोले भान्छादेखि लेख्ने टेबुलसम्म महिलाहरूलाई अवरोध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आलोचनात्मक तथा समालोचनात्मक लेखनमा महिलाहरूले अवरोध खेपेका छन् । धार्मिक अनुष्ठानले पनि ठूलो अवरोध गर्दछ । कुनै पनि रचनात्मक अध्ययन, लेखनभन्दा पनि किनमेल, पूजा सामग्री जुटाउनमै व्यस्त हुन पुग्छन् । महिलाहरू नै बढी चापमा परेका हुन्छन् ।”

गुप्तोले विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा महिला लेखकहरूलाई पनि उचित ठाउँ दिनुपर्ने बताउनुभयो ।

कवि र फिल्म निर्माता उपेन्द्र सुब्बाले नेपाली सिनेमा निर्माणमा पुरुषप्रधान विचार धाराको प्रभुत्वले महिलाको कथा र मुद्दाले कसरी स्थान पाएको छ त ? भन्ने प्रश्नमा पहिलेभन्दा अहिलेका सिनेमामा महिलाका मुद्दाले पा्रथमिकता पाइरहेको बताउनुभयो । यद्यपि यो पर्याप्त नरहे पनि भविष्य आशालाग्दो रहेको उहाँको धारणा थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले यस्ता खालका विचार मन्थनका कार्यक्रमले महिलाका सवालमा नयाँ विचारको विकास गर्ने बताउनुभयो । “यस्ता खालका विमर्श हुन आवश्यक छ, विचार मन्थनबाट नयाँ विचारको जन्म हुन्छ । नयाँ दृष्टिकोणको माध्यमबाट राम्रा नीति बनाउन सम्भव हुन्छ ।”

Facebook Comments Box