काठमाडौँ, १५ पुसः कवि शिरोमणि लेखनाथ पौड्यालको १४१ औँ जन्मजयन्तीका अवसरमा ‘लेखनाथका रचनाको विवेचना’ सार्वजनिक गरिएको छ ।
नेपाली शिक्षा परिषद्ले आज यहाँ आयोजना गरेको कार्यक्रममा साहित्यकार बमबहादुर थापा जितालीद्वारा लिखित उक्त कृति सार्वजनिक गर्नुहुँदै कवि मुकुन्द शर्मा चालिसेले लेखनाथका कविताले समग्र क्षेत्रलाई समेटेको बताउनुभयो । लेखनाथका कविता सामाजिक, राजनीतिक, सांस्कृतिकलगायत विविध क्षेत्रका रहेको उहाँको भनाइ थियो ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराईले ‘पिँजराको सुगा’ कविताबारे चर्चा गर्दै त्यसले आफ्नो जीवनमा प्रभाव पारेको बताउनुभयो । सो अवसरमा कवि दिव्यचन्द्र आचार्य, कवयित्री प्रभा भट्टराई, कवि मधुसूदन लामिछाने, गायक सन्तोष श्रेष्ठलगायतले लेखनाथका कविता एवं गजल वाचन गर्नुभएको थियो ।
कार्यक्रममा परिषद्का अध्यक्ष रमा शर्मा, कोषाध्यक्ष शङ्करप्रसाद पाण्डे, त्रिविका उपप्राध्यापक परिषद्का सदस्य ज्ञाननिष्ठ ज्ञवाली, सदस्य लक्ष्मण थापालगायतले लेखनाथको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्नुभएको थियो । सो अवसरमा लेखनाथकी नातिनी डा सुधा खकुरेलको कविता सङ्ग्रह ‘मनका तरङ्गहरु’ लोकार्पण गरिएको छ ।
लेखनाथ पौड्यालको जन्म विसं १९४१ पुस १५ गते जन्म भएको थियो । विसं २०२२ फागुन ७ गते शिवरात्रिका दिन उहाँको देहावसान भएको थियो । खण्डकाव्य हरु ‘ऋतुविचार’, ‘वुद्धिविनोद’, ‘सत्यकलि संवाद’ र ‘तरुणतपसी’ महाकाव्यलगायत कृतिको उहाँले रचना गर्नुभएको थियो ।