चितवन, १८ पुसः कम्युनिष्ट नेता मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि आज यहाँ संवाद र समीक्षा गरिएको छ । अखिल नेपाल बुद्धिजीवि सङ्घ चितवनले आयोजना गरेको कार्यक्रममा साहित्यकारले यस उपन्यासलाई निडर भएर अघि बढ्नका लागि प्रेरणाको स्रोत भनेर चित्रण गर्नुभएको छ ।
प्रेम कथामा आधारित यस उपन्यासले मानवीय र माक्सवादी चिन्तन बोकेको नेपाली साहित्यको उपलब्धिका रुपमा यस उपन्यासलाई लिइएको सो अवसरमा बोल्ने वक्ताहरुले बताएका थिए ।
कार्यक्रममा लेखक सिंहले कम्युनिष्टहरुले समाजका लागि आफूलाई कसरी सम्र्पण गर्छन् भन्ने मार्गदर्शनका लागि यो उपन्यास सार्थक भएको बताउनुभयो । कम्युनिष्टले विश्वमा नै शोषणविहीन समाजवादको बाटोमा हिँड्नुपर्ने उहाँले बताउनुभयो । आफूले २३ वर्ष लगाएर लेखेको यस उपन्यासले वास्तविकता बोकेको बताउँदै उहाँले कम्युनिष्टसँगै ऐतिहासिक रुपमा रहेका हरेक वस्तुलाई सार्थक रुपमा दिनसक्ने बताउनुभयो ।
कार्यक्रममा साहित्यकार एलवी क्षेत्री, रमाकान्त सापकोटा, अशोक शर्मा, ईश्वरी भट्टराई, उदय अधिकारी, सरिता तिवारीलगायतले टिप्पणी गर्नुभएको थियो ।
कामरेड जलजला उपन्यास दुई खण्डमा रहेको छ । आठ भाग ७२ परिच्छेद र दुई सय ७२ अङ्कहरुमा विभाजित यस उपन्यास एक हजार तीन सय २० पृष्ठको रहेको छ । जसमा पाँच सय पात्रहरु रहेका छन् । यस उपन्यास नेपालका विभिन्न स्थानको इतिहास संस्कृति र मानव जीवनको पनि अध्ययन गर्ने प्रयत्न गरेको सो अवसरमा बताइएको थियो ।