गण्डकी, १ माघः पोखरेली साहित्यकारहरूको पुछारसिटे अभियानले आयोजना गर्दै आएको एकल कविता वाचनको दसौँ शृङ्खलाअन्तर्गत आज ‘घिउ, चाकु र तरुलसँग कविता’ पुछारसिटमा केशु शर्मा’ कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।
प्रत्येक वर्ष माघेसङ्क्रान्तिका दिनमा घिउ, चाकु र तरुलको स्वादमा कविता वाचन गर्दै विभिन्न कविलाई एकल कविता वाचनका लागि उपस्थित गराउँदै आएको अभियानले यस शृङ्खलामा कविता वाचकका रुपमा कवयत्री केशु शर्मालाई उपस्थित गराइएको थियो ।
शर्माले आफ्नो एकल कविता यसरी सुनाउनुभयो
‘च्याउ उम्रेझैँ
उम्रिरहन्छन् राजनेताहरू
अबौँ खबौँ बगिरहन्छन्
हर्के, साहिँला र माहिलाका सपनाहरू
दुखिरहन्छन् कमली, बाटुली र चमेलीका जिन्दगीहरू
साँच्चै मृत्युअगि
मान्द्राभरि आश्वासनका बिस्कुन नसुकाउनेहरूले
कसैको मनमुटु नदुखाउनेहरूले
यो देश हाँकेको हेर्ने रहर छ ।’
वाचनका क्रममा उहाँले आफ्नो जीवनयात्राका अनेक मोड र घुम्ती, घरपरिवार, साथीभाइ र विद्यार्थीहरू स्मरण गर्नुभयो । गीत, कविता, गजललगायतका विविध साहित्यिक सिर्जनामा कलम चलाउँदै आउनुुभएका उहाँ हालै पोखराको वाङ्मयिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारकी साहित्य संयोजक चयन हुुनुुभएको छ ।
उहाँका कवितामा सरल शब्दमा गहन भाव प्रकट हुन्छन् । साथै उहाँका कवितामा सहरभित्रको ग्रामीण जनजीवनको यथार्थ चित्रण, देशको राजनीतिक एवं सामाजिक विकृति विसङ्गतिमाथिको विद्रोह, प्रकृतिप्रेम, मानवतावाद, देशप्रेमको भाव ओतप्रोत भएको पाइन्छ । नेपाली नारीका दुःख एवं सङ्घर्षका अनुभूति उहाँका कविता एवं गीतका मुख्य विशेषता बनेका छन् ।
पुछारसिटे अभियानका संयोजक सञ्जीव पौडेलले पोखरामा विसं २०७४ मा स्थापना भएदेखि नै विविध साहित्यिक, सामाजिक एवं पर्यटकीय गतिविधि गर्दै आइरहेको बताउनुुभयो । अभियन्ता वसन्त विनोदले आगामी समयमा शिक्षा, स्वास्थ्यलाई पनि केन्द्रमा राखेर संस्थाले विविध क्षेत्रमा प्रतिभा भएका सहरदेखि गाउँसम्मका व्यक्तिलाई मूलधारको मञ्चमा जोड्ने योजना रहेको जानकारी गराउनुुभयो ।
अभियन्ता अमृत क्षेत्री, कलाकार प्रकाश घिमिरे लगायतले अभियानका विविध पक्षबारे बोल्नुुभएको थियो । अभियानले यसअघि प्रकट पङ्गेनी ‘शिव’, अल्पज्ञानी, अर्जुन ढकाल, लक्ष्मण थापा, अमृत क्षेत्री, सरस्वती श्रेष्ठ ‘सरू’, इन्द्र राना ‘प्रतीक’, डा वसन्त गौतम, डा ईश्वरमणि अधिकारीलाई एकल वाचकका रूपमा मञ्चमा उभ्याइसकेको छ ।