वानीरा गिरी फाउण्डेसनले तीन स्रष्टालाई सम्मान गर्ने

साहित्य

काठमाडौँ, २० माघ : वानीरा फाउण्डेसनले यस वर्षको तीन वटा पुरस्कार घोषणा गरेको छ । फाउण्डेसनको आजको बैठकले नेपाली भाषा, साहित्यलगायत क्षेत्रमा क्रियाशील तीन स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

नेपाली भाषासाहित्यको सिर्जनामा छ दशकअघिदेखि निरन्तर साधनारत एवम् उच्च शिक्षाको श्रीवृद्धिमा समर्पित प्रा रामकुमार पाँडेलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ दिइने निर्णय भएको सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।

यसैगरी, चित्रकलाको आराधनामा विगत सात दशकदेखि अनवरत साधनारत रही अन्तरराष्ट्रियजगत्मा समेत नेपालको गौरव बढाएबापत शशी शाहलाई ‘वानीरा शङ्कर पुरस्कार’ दिइने निर्णय भएको उहाँले सुनाउनुभयो ।

नेपाली साहित्यका विश्व नारी रत्न डा वानीरा गिरीका सम्मानमा स्थापित यी दुवै पुरस्कारका राशि जनही रु एक÷एक लाख रहेको छ । साथै कविता सिर्जनाका माध्यमबाट नेपाली भाषासाहित्यको संवर्द्धनमा उल्लेख्य योगदान दिएबापत कवि कृष्ण बाउसेलाई रु ५० हजार राशिको ‘वानीरा पुरस्कार’ दिने निर्णय भएको हो ।

वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इञ्जिनियर शङ्कर गिरीको उपस्थिति तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसार्इंको अध्यक्षता सम्पन्न फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।

Facebook Comments Box