पत्रकार उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रह विमोचित

साहित्य

सुदूरपश्चिम,२९ माघः पत्रकार एवं साहित्यकार दीर्घराज उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको आज धनगढीमा विमोचन गरिएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा साहित्यकार डा नवराज लम्साल, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार डा हेमराज पन्त, प्रदेशसभा सदस्य धर्मराज पाठक, साहित्यकार श्रेष्ठप्रिया पत्थरले संयुक्त रूपमा सङ्ग्रह विमोचन गर्नुभयो ।

त्यस अवसरमा साहित्यकार लम्सालले कवितामा विचार मात्र नभई हृदय, समाजको चेत र चेतना लेखिएको बताउनुभयो । उहाँले भन्नुभयो “उपाध्यायका कवितामा देशप्रेम झल्किन्छ, समाजका विकृति विसङ्गति, कुरीतिमाथि तिखो प्रहार गरिएको छ ।”

कैलाली बहुमुखी क्याम्पसका सह प्राध्यापक सीताराम भट्टले पुस्तकमाथि टिप्पणी गर्दै नेपाली साहित्यमा उपाध्यायको कृति गतिलो सम्पत्ति भएको बताउनुभयो ।

करिब २५ वर्षदेखि पत्रकारितामा क्रियाशील उपाध्यायले समाचारमा समेट्न नसकिएका मर्मस्पर्शी विषयवस्तुलाई कवितामार्फत् उर्तानुभएको छ । उहाँले यसअघि गत भदौमा ‘द्वन्द्व पत्रकारिताको एक दशक’ नामक कृति बजारमा ल्याउनु भएको थियो ।

उहाँका केही गजल सङ्ग्रह र कविता सङ्ग्रह पनि प्रकाशित छन् । विमोचन समारोहमा ऐश्वर्य प्रकाशन प्रालिका अध्यक्ष गणेशप्रसाद जोशी, वरिष्ठ पत्रकार टीकाराम यात्रीलगायत वक्ताले धारणा राख्नुभएको थियो ।

Facebook Comments Box