पछिल्लो २४ घण्टामा थपिए ८९९ संक्रमित

मुख्य समाचार स्वास्थ्य/शिक्षा

काठमाडौं,१५ भाद्र। नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ३०३ जना महिला र ५९६ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको बताएका छन् ।

यस्तै गएको २४ घण्टामा पाँच सय ८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २१ हजार ४१० पुगेको छ ।

अब नेपालमा १७ हजार ८२२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा छन् । यस्तै सात हजार ३३७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या २२८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

Facebook Comments Box