देशका विभिन्न भागमा हिमपात

मुख्य समाचार समाचार

काठमाडौें । शिवपुरीमा परेको हिउँ । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित मुलुकभर हल्का वर्षा भइरहेको छ । यो सँगै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुन थालेको छ । यसैक्रममा बिहीबार रातीदेखि काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरीलगायतका डाँडामा हिउँ परेको छ । यसअघि गत माघ ६ गते र पुस १४ गते पनि हिउँ परेको थियो । हिउँ परेसँगै हिउमा रमाउन बाक्लो संख्यामा युवा युवतीको उपस्थिति हुने गर्छ । देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातीदेखि काठमाडौं उपत्यकामा परेको पानी अहिले केही हल्का भएको छ । यद्यपी तुवालोले ढाकेको छ। वर्षासँगै हिउँ परेपछि चिसो बढेको छ । महाशाखाले पनि वर्षा र हिमपातका कारण चिसो थप बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
हिमपातले गर्दा राजमार्गहरू अवरूद्ध भएका छन् । बैतडीको दशरथचन्द राजमार्गअन्तर्गत देहिमाण्डौ क्षेत्रमा सडकमा हिउँ जमेको छ । हनुमानध्वज गुल्ममा कार्यरत नेपाली सेनाको टोलीले हिउँ हटाउने काम गरेका छन् । यस्तै जुम्लामा भारी हिमपात भएको छ । जुम्लाबाट चल्ने लामो दूरीमा सवारीसाधन हिमपातले गर्दा चल्न सकेका छैनन् । हिमपातले रुकुम– बागलुङ हुँदै पोखरा जोड्ने लोकमार्ग अवरुद्ध भएको छ । रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी गणेश श्रेष्ठका अनुसार भारी हिमपातपछि बिहीबारदेखि लोकमार्ग अबरुद्ध भएको हो । सडकमा बाक्लो हिउँ जमेका कारण सवारी साधन चल्न सकेका छैनन्,’ उनले भने । काठमाडौंलगायत क्षेत्रमा पनि बिहीबारदेखि वर्षा भइरहेको छ । शनिबारसम्म मौसम प्रभावित हुने र त्यसपछि मौसम सफा हुने बताइएको छ । देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन÷चटयाङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनाङमा तीन फिट बाक्लो हिमपात भएको छ । बिहीवार दिउँसोदेखिको निरन्तरको हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको तापक्रम घटेर माइनस १२ डिग्री सेल्सियस पुगेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी , चामे , दानक्यु लगायतका ठाउँमा हिमपात भएको छ । लगातारको हिमपातले चिसो अत्यधिक बढेको छ । चिसो बढेसँगै धारामा पानी जमेको छ । खोलासमेत जमेको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए ।
हिमपातबाट हुने जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायहरु तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म हे।क्वा मनाङका प्रहरी निरीक्षक पूर्ण तामाङले बताए । हिमपातले किसान भने खुसी भएका छन् । मनाङका स्थानीय अनिता लामाले हिमपातले आलु, फापर, गहुँ, जौ र उवालगायतका बालीलाई राम्रो गर्ने बताइन् । चामे गाउँपालिका– २ थान्चोकका स्याउ कृषक कुलबहादुर घलेले हिमपात हुनु स्याउ खेतीका लागि राम्रो भएको बताए ।
सोलुखुम्बुको सदरमुकाम सल्लेरी सहितका क्षेत्रमा भारी हिमपात भैरहेको छ । जिल्लाको सदरमुकाम सहित अन्य क्षेत्रमा गएराति देखी भारी हिमपात भइरहेको छ । सडकमा बाक्लो हिउँ जमेका कारण सवारी साधन चल्न सकेका छैन भने जिल्लाबाट दैनिक रुपमा राजधानी काठमाडौ लगायतका स्थानहरुमा जाने सवारी साधनहरु छुट्न नसकेको यातायात ब्यवसायि दोर्जी शेर्पाले बताउनुभयो । जसका कारण दर्जनौं यात्रु रोकिएको उहाँको भनाइ छ ।सडक मार्गबाट जिल्ला भित्रने एक मात्र नाका पत्ताले क्षेत्रको सडकमा करिब २ फिट जति हिउँ जमेकाले तत्काल यातायातका साधन चल्ने सम्भावना कम रहेको पत्ताले स्थित हाम्रा सहकर्मी भाइचुङ शेर्पाले बताउनुभयो ।
हिमपातपछि सदरमुकाम सल्लेरी, फाप्लु, नयाँ बजार लगायतका क्षेत्रमा हिउँ खेल्ने मनिसहरु सडकमा निस्कन थालेका छन भने हिउँ पर्ने क्रम झनै बाक्लिदै गएको स्थानीय रमेश राइले बताउनुभयो । जिल्लाको खुम्बु क्षेत्रमा करिब ११÷१२ दिन यता दैनिक जसो नै हिमपात भैरहेको छ भने गएराति देखि सुरु भएको भारी हिमपातले जनजीवन प्रभावित बनेको छ । सो क्षेत्रमा बाक्लो हिउँ जमेका कारण मानिसहरू घर बाहिर निस्कन समेत मुस्किल भइरहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख भुमिराज उपाध्यायले जानकारी दिनुभयो । सोलुखुम्बुको खुम्बु क्षेत्रमा करिब १० दिन यता दैनिक हिमपात भईरहेको छ । मध्यन्न सम्म सामन्यतय मौसम खुलेपनि दिउँसो पख दैनिक रुपमा हिमपात भईरहेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका निमित्त प्रमुख बिक्रम सिं बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार हिमपातपछि चिसो अत्याधिक बढेको छ भने लुक्ला क्षेत्रमै तापक्रम घटेर माइनस ५ डिग्री सेल्सियसमा झरेको छ ।
चिसोका कारण कर्मचारीहरुलाई काम गर्न निक्कै मुस्किल रहेको उहाँले बताउँनुभयो । सिजनको समयमा पर्यटकले भरिभराउ हुने लुक्ला लगायतका क्षेत्र चिसोकै कारण प्रया शुन्य बनेको छ भने अधिकांश होटल पसलहरु बन्द रहेका छन् । कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ । मुगुस्थित ताल्चा विमानस्थलमा हवाइ उडान ठप्प भएको छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लो हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेको छैन । कर्णालीमा यो तेस्रो पटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात भएको हो । आज पनि हिमपात भइरहेको छ ।
मुगुका प्राय: सबै स्थानीय तह लगायत सदरमुकाम गमगढी बजारमा लगायतका क्षेत्रमा हिमपात भएको छ । जुम्लाका सबै स्थानीय तहका क्षेत्रमा पनि हिमपात भएको छ ।
उत्तरी क्षेत्र मकवानपुरको दामन र सिम्भञ्ज्याङ हिउँले सेताम्मे भएको छ । मकवानपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको दामन–सिम्भञ्ज्याङ क्षेत्रमा शुक्रबार बिहानै देखि बाक्लो मात्रामा हिउँ परेपछि सेताम्मे देखिएको हो । बागमती प्रदेशको राजधानी हेटौंडाबाट ७० किलोमिटर उत्तर र संघीय राजधानी काठमाडौँबाट ८० किलोमिटर दक्षिणमा अवस्थित दामन–सिम्भञ्ज्याङ क्षेत्रमा करिव एक फुट सम्म हिउँ जमेको स्थानीयहरु बताउँछन् । दुई हजार ४ सय ८८ मिटर उँचाइ रहेको सिम्भञ्ज्याङ मकवानपुरकै सबैभन्दा अग्लो क्षेत्र हो ।
काठमाडौंको शिवपुरी, फुल्चोकी र चन्द्रागिरी लगायत काठमाडौँ उपत्यका वरिपरिका डाँडामा हिमपात भएको छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

Facebook Comments Box