कनकाई नगरपालिकाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई राष्ट्रिय विभूतिको सम्मान दिँदै पूर्णकदको शालिक अनावरण गरेको छ । कनकाईले ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आज पृथ्वीनारायण शाहको शालिक अनावरण गरेको हो ।
नगरपालिका प्रवेशद्वारमा भएको एक संक्षिप्त कार्यक्रमका बीच पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य हीराकुमार थापा, नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मञ्जु प्रसाईँलगायतले एकताका प्रतीक राष्ट्रनिर्माता पृथ्वीनारायणको शालिक अनावरण गर्नुभएको हो ।
गजुरसहित निर्माण गरिएको सात फिट पाँच इन्च उचाइको पृथ्वीनारायणको शालिक नेपालकै पहिलो ठूलो भएको अनुमान छ । नगरवासीमा एकताका साथ अघि बढ्नुपर्छ भन्ने सन्देश दिने उद्देश्यले पृथ्वीनारायण शाहको शालिक निर्माण गरिएको कनकाई नगर प्रमुख पोखरेलले बताउनुभयो । पृथ्वीनारायण शाहलाई राजसंस्थासँग जोडेर नभई राष्ट्रनिर्माताका प्रतीकका रूपमा सम्मान गर्दै शालिक स्थापना गरेको नगर प्रमुख पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रिय, अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा सहभागिता जनाइसक्नुभएका कनकाई–३ निवासी राष्ट्रिय मूर्तिकार हिम्मत नेम्वाङबाट छोटो समयमै निर्माण गरिएको शालिक नगरपालिकाको प्रवेशद्वारमा अनावरण गरिएको हो । दुई मूर्तिकारले दुई महिना लगाएर निर्माण गरेको शालिकको मूल्य रु ११ लाखभन्दा बढी पर्ने भए पनि मूर्तिकार नेम्वाङ स्थानीयवासी भएकाले सम्मानसहित उहाँको श्रमवापतको रु पाँच लाखमात्र दिने सम्झौता भएको बताइएको छ । शालिक अनावरण कार्यक्रमका अवसरमा मूर्तिकार नेम्वाङलाई विशेष सम्मानसमेत गरिएको छ ।