कर्णाली, १३ पुस : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित समीक्षा गोष्ठी कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रम मन्त्री जिसीले नेपाल प्रहरीको अनुसन्धान समाजको शान्ति र समृद्धिसँग जोडिएको बताउनुभयो ।
“नागरिक नजिकको सेवक प्रहरी नै हो, जनताको जीउधनको सुरक्षा र समाजमा शान्ति अमनचयन कायम पनि प्रहरीले नै गर्दछ”, उहाँले भन्नुभयो, “यस अर्थमा प्रहरीलाई नागरिकको साथी र सहयोगी भन्ने गरिन्छ ।” समाजमा हुने सबै खालका अपराध अनुसन्धानमा नेपाल प्रहरीको विश्वमा उँचो छवि भएको उल्लेख गर्दै अब पनि अपराध अनुसन्धानका क्षेत्रमा थप अब्बलता देखाउन उहाँले प्रहरीलाई सुझाउनुभयो ।
उच्च अदालत सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीले नागरिकहरुको न्यायका लागि अपराधको गहिरो अनुसन्धान अनिवार्य शर्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “न्यायालयले दिने न्यायको पहिलो आधार नै प्रहरीले गर्ने अपराध अनुसन्धान हो, उसको अनुसन्धानबाट जुट्ने बलियो प्रमाणबाट मात्र पीडितहरुलाई न्याय मिल्छ ।”
गोष्ठीमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रहरी अनुसन्धान नागरिकको सुरक्षित जीवनसँग जोडिएकाले समाजमा घट्ने अपाराधिक घटनाको अनुसन्धान युग सुहाउँदो हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर गुरुङले विकट भूगोलले बनेको कर्णाली प्रदेशका नागरिकहरुको शान्ति सुरक्षा कायम गर्न र यहाँ घट्ने विभिन्न अपराधिक घटनाको अनुसन्धानलाई थप प्रभावकारी बनाउने ध्येयले प्रदेशस्तरीय समीक्षा गोष्ठीको आयोजना गरिएको बताउनुभयो ।
उक्त समीक्षा गोष्ठीमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, सहन्यायाधिवक्ता डम्बरप्रसाद काफ्ले, नागरिक समाजका अगुवा पिताम्बर ढकाल, कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल, प्रहरी अधिकृत तथा अपराध अनुसन्धानसँग सम्बन्धित सरोकारवाला तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।