दाङ, २७ कात्तिकः राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा महेन्द्रमान गुरुङले सूचना हकलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आयोगले आज सल्यानमा आयोजना गरेको अन्तरक्रियामा उहाँले हरेक निकाय सूचनाको हक कार्यान्वयनमा गम्भीर बन्नुपर्ने बताउनुभयो । सूचना माग गर्नु नागरिकको अधिकार भए पनि नियत सफा राखेर मात्रै सूचना माग्नुपर्ने उहाँको भनाइ थियो । “सूचना माग्नु नागरिकको अधिकार हो तर कुनै इगो, गलत नियत राख्ने गरी सूचना माग्नु हुँदैन”, उहाँले भन्नुभयो, “सुधारात्मक कार्यका सूचना माग्दा त्यसले सबैको भलो गर्छ ।”
सूचना माग गरिसकेपछि त्यसको सही सदुपयोग गर्नुपर्ने उहाँले बताउनुभयो । कसैले सूचनाको दुरुपयोग गरेको भए आयोगमा निवेदन दिन तथा माग भएको सूचना उपलब्ध गराउन समय लाग्ने भएमा आयोगमा जानकारी गराउनुपर्ने उहाँको भनाइ थियो । नागरिकले कानुनमा व्यवस्था भएअनुसार सूचना प्राप्त गर्न पाउनुपर्नेमा जोड दिँदै गुरुङले यसले भ्रष्टाचार, अनियमितता उजागर गर्न सहयोग पु¥याउने बताउनुभयो । उहाँले सञ्चारकर्मीहरुलाई सूचनाको हकको प्रयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले कार्यालयले सूचना व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । सल्यानका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सूचना अधिकारीलाई तालिमको व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष शङ्कर केसीले महासङ्घ सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा क्रियाशील रहेको बताउनुभयो ।