दक्षिण कोरियाद्वारा श्रमिकमा कटौती

प्रवास वैदेशिक रोजगार

काठमाडौं,१० पुस । दक्षिण कोरिया सरकारले इपिएस प्रणालीमार्फत भाषा र सीप परीक्षा दुवै उत्तीर्ण गरेर विभिन्न देशबाट श्रमिक लैजाँदै आएकोमा आगामी वर्ष सन् २०२१ का लागि भने श्रमिक आगमनमा कटौती गरेको छ । आगामी वर्ष विभिन्न १६ देशबाट गरेर कुल ५२ हजार श्रमिकलाई मात्र कोरिया लगिने दक्षिण कोरियाको श्रमिक कोटा निर्धारण समितिले जनाएको छ ।

सन् २०२१ का लागि छुट्टयाइएको विदेशी कामदारको संख्या सन् २०२० को तुलनामा ४ हजार कम हो । सन् २०२० मा ५६ हजार विदेश श्रमिकलाई कोरिया लैजाने भनिएकोमा कोभिड–१९ कारण हालसम्म थोरैमात्र कोरिया पुगेका छन् ।

इपिएस भाषा र सीप परीक्षा प्रणालीमार्फत १६ देशका लागि भनेर आगामी वर्ष तोकिएको ५२ हजारमध्ये विभिन्न क्षेत्रमा विभाजन गरिएको समितिले जनाएको छ । समितिले गरेको निर्णयअनुसार उत्पादन क्षेत्रमा ३७ हजार ७ सय, कृषि क्षेत्रमा ६ हजार ४ सय, मत्स्यपालन क्षेत्रमा ३ हजार, निर्माण क्षेत्रमा १ हजार ८ सय जना, सेवा क्षेत्रमा (पुरानो समान बटुल्ने र छान्नेमा) १ सय जना तोकिएको जनाइएको छ ।

समितिका अनुसार ४० हजार कामदार नयाँ र १२ हजार पुनः श्रमिक ल्याउन लागिएको हो । कोरोनाको कारण २०२० को कोटा मध्यको ३० हजार ९ सय ९ प्रवासी श्रमिक कोरिया आएका छैनन् । यो वर्षको अप्रिलसम्ममा २२ हजारका लागि रोजगार अनुमतिपत्र जारी गरिने जनाएको छ ।

नेपालबाट वार्षिक ५ हजारभन्दा धेरै इपीएस भाषा प्रणालीमार्फत कोरिया रोजगारीका लागि जाने गरेका छन् । सन् २०२१ मा नेपालबाट कति कामदार लैजाने भनेर कोटा निर्धारण भने गरिएको छैन ।

सन् २०२० का लागि उद्योग र कृषितर्फ गरी कूल ५६ हजार कोटामध्ये ३३ हजार १ सय (५९.१५ प्रतिशत) अनुमतिपत्र जारी गरिएको थियो । जसअन्तर्गत नेपालबाट करिब ७ हजार नेपाली जाने भनिएको थियो । तर, कोरोनाका कारण धेरै नेपालीहरू कोरिया जानबाट बञ्चित छन् । गत अक्टोबरसम्ममा ६ हजार ७४ जना मात्र नयाँ प्रवासी मजदुर कोरिया प्रवेश गरेको जनाइएको छ ।

यसअघि कोभिड–१९ महामारीका कारण बन्द गरिएको रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत सन् २०२० का लागि नेपाली श्रमिक लगिने कार्य छिट्टै गरिने भनिए पनि अझैँ कहिले लगिने भनेर टुंगो भएको छैन । प्रवासी श्रमिक युनियन (एमटियु) र केसीटियुले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्रवासी श्रमिक विभागका निर्देशकलगायतसँग गरेको छलफल कार्यक्रममा कोरोनाका कारण सन् २०२० का लागि कोरियामा इपिएसअन्तर्गत प्रवासी श्रमिक ल्याउने कार्यक्रम छिट्टै सुरु गर्ने भनिएको थियो ।

त्यत्तिबेला कोभिड–१९ महामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याइने र सन् २०२० का लागि कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेहरूको सन्दर्भमा उनीहरूको दुईवर्षे रोस्टरको समयावधिलाई पुनः ६ महिना थप्ने निर्णय पनि भएको थियो ।

कोभिड–१९ महामारीका कारण गत मार्चदेखि नयाँ प्रवासी श्रमिक ल्याउन बन्द गरिएको थियो । साथै, महामारीलाई मध्यनजर गर्दै नेपालबाट पनि अब छिट्टै श्रमिक ल्याइने वातावरण बनाइने पनि जनाइएको छ ।

Facebook Comments Box