न्युयोर्क स्टेट एसेम्बली ‘साईटेसन’ बाट महिला उधमी दिपा सम्मानित

प्रवास समाचार

कामदार दैनिक 

न्युयोर्क, संयुक्त राज्य अमेरिका 

महीला उधमी तथा सामाजिक अभियन्ता दिपा उप्रेती सत्याल न्युयोर्क स्टेट एसेम्बली, एसेम्बली सदस्य माईकल जी मीलर बाट “साईटेसन” द्वारा सम्मानित भएकी छिन् । जर्सि सिटी हेल्पिंग ग्रुप, जर्सि सिटी, न्युजर्सी का सक्रीय सदस्यको रुपमा कोभिड-१९ को चरम बिन्दुमा जर्सि सिटी र आसपासको क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाय र केही भारतीय समुदायका मानिसहरुलाई आफ्नो स्वास्थ्यको ख्याल नगरी आफ्नो समुदायको हितको निमित्त प्राथमिक उपचारका साधनहरु जस्तै मास्क, ह्यान्ड स्यानिटाईजर, थर्मोमीटर (ज्वरो नाप्ने यन्त्र), टायनल अनी ग्लोव्स बितरण कार्यमा अहोरात्र खटेकी उनलाई उक्त कार्यको उच्च मुुल्याङ्क गर्दै एसेम्बली सदस्य माईकल जी मीलरले सम्मान गरेका हुन् ।

कानुनकि ज्ञाता समेेत रहेेकी दिपाले आफ्नो बिशेष पहिचान भने ब्यवसायबाट बनाएकी छिन्।उनको उद्योगले भान्सामा चाहिने तयारी खाद्य पदार्थ उत्पादन गर्छ । सन् २००७ मा स्थापना भएको उनको उद्योगले गाउँमै फल्ने लप्सीबाट क्यान्डी, लप्सीकै माडा, मस्यौरा, तितौरा, बेसारको धूलोलगायतका खाद्य सामग्री उत्पादन गर्छ ।  सामाजिक काममा अति सक्रिय दिपा बालबालिकाको संरक्षणमा कार्यरत दिदीबहिनी संस्थाकी संस्थापक पनि हुन् । उनी लघुवित्त तथा सहकारी संस्थाहरुमा पनि आवद्ध छिन् ।


उनलाई आफ्ना संघर्षका दिनहरु सम्झँदा अझै आंखामा आँशु भरिएर आउँछ । कानुन पढेकी मान्छेले अचार उद्योग सुरु गर्दा हाम्रो समाजले कति गिज्याउँछ, सबैलाई थाहै छ । त्यस्तै पीडा दीपाले पनि बेहोरेकी थिइन् । उनले सुरुमा अचार उद्योग चलाउँदा छिमेकी र आफन्तले मात्र हैन, परिवारकै सदस्यले समेत उनलाई उल्ल्याएका थिए । पढेकी मान्छे अचार बनाएर बस्ने ? भनेर उनलाई धेरैले गिज्याए । जस्तो सुकै अबस्थामा पनि उर्जा दिइरहने पति पाएकाले उनी बिचलित भइनन् । आफ्नो लक्षमा दृढ भएर लागिरहिन् ।

अचारका लागि कच्चा पदार्थ संकलन गर्न गाउँगाउँ, एउटा जिल्लाबाट अर्को जिल्ला धाउनु पर्दा उनलाई कम्ती गाह्रो थिएन । त्यसमा पनि दूख गरेर उत्पादन गरेका सामान पसलहरुमा पुर्याएपछि उधारो नउठेर सास्ती खेप्नु पथ्र्यो । उधारोमा नदिए कसैले उनका उत्पादन बेचिदिँदैनथे । उधारोमा छाडेर आउँदा नगद लिन साँढे दुई महिनापछि मात्रै आउनु भनेर पसलेहरुले उनलाई निराश बनाउँथे । उनलाई कहिलेकाहीँ त कस्तो ब्यवसायमा हात हालेँछु जस्तो लाग्थ्यो ।

अचारका बट्टा बोकेर पसलपसल धाउँदा थाकेकी दीपाले बजारिकरणको नयाँ रणनीति अख्तियार गरिन् । उनले खासगरी महिलाहरुको जमघट हुने तीज, कृष्णजन्मास्टमीजस्ता चाडपर्वहरुमा अचारलगायतका आफ्ना उत्पादन निशुल्क चखाउन थालिन् । महिलाहरुले उनका उत्पादनको स्वाद मन पराए । भान्सामा धेरै भूमिका महिलाहरुकै हुन्छ । त्यसपछि भने उनको अचारले लोकपृयता कमाउन थाल्यो । उनको अचारको माग बढ्न थाल्यो ।
अहिले भने उनले अचार बेचिदिन्छौ भन्दै पसलपसल धाउनु पर्दैन । राजधानीका डिपार्टमेन्टल स्टोरहरु गृहिणीहरुले उनलाई सिधै सम्पर्क गरेर अचारलगायतका उत्पादनहरु मगाउँछन् । विदेशबाट समेत उनको अचारको माग हुन थालेको छ । विगत सम्झँदै उनी भन्छिन्, पहिले म महिनाको ५ सय केजी पनि लप्सीका उत्पादन विक्री गर्न सक्दिनथेँ, अहिले बजारको बढ्दो माग धान्न १० हजार केजीले पनि पुग्दैन । पछिल्लो समय दीपाले आफ्ना उत्पादनहरुमा विविधिकरण गरेकी छन् । उनले लप्सीका अचारलगायतका उत्पादनहरुका अतिरिक्त सेलरोटी, अनरसासमेत विक्री गर्छिन् । उनी आफ्ना उत्पादन त बजारमा लान्छिन् नै, अरुले गरेका उत्पादनको पनि बजारिकरणमा सघाउँछिन् । उनी घरमै चुपचाप उद्यम गरिरहेका महिलाले उत्पादन गरेका बस्तुहरु बजारमा पुर्याउन सहायता गर्छिन् । उनलाई एउटा सिजनमा २ लाख रुपैयाँसम्मको सेलरोटी मात्रै बेचेको अनुभव छ ।
दीपाले अरु महिला दिदीबहिनीहरुसँग मिलेर संंचालनमा ल्याएको अर्को संस्था छ माही इन्टरप्राइजेज । यसले अरु महिलाहरुले उत्पादन गरेका सामग्रीको बजारिकरणमा सघाउँछ । यसले प्रांगारिक मलमात्र हालेर उत्पादन गरेको (अर्गानिक) फापर, कोदो, जुम्लामा उत्पादन भएका गेडागुडीको दाललगायतको बजारिकरण गरिरहेको छ । त्यस्तै अन्तराष्टिय बजारमा लप्सीका विभिन्न प्रकारका तितौरा, मस्यौरा, अचार, गुन्द्रुक, सिन्कीलगायतका उत्पादन पुर्याउँदै आएको छ । माहीले अमेरिका, बेलायत, भारत, दुवइ, मलेसियालगायतका मुलुकमा नेपाली उत्पादन पुर्याइरहेको दीपा बताउँछिन् ।

उनीअर्गानिक उत्पादनको बजारिकणमात्र नगरि, अर्गानिक उत्पादन गर्न चाहिने प्रांगारिक मल कसरी बनाउने भन्ने किसानहरुलाई तालिम समेत दिन्छिन्।  अमेरिकाको  क्यालिफो्नियाँमा वातावरणसम्बन्धी एक कार्यक्रममा सहभागी हुन जाँदा देखेको विधिलाई प्रयोग गरेर गँड्यौला पालन गरेर भर्मी कम्पोस्ट मलबारे अनुसन्धान गरिन्। उनले अनुसन्धान सफल भएपछि त्यसलाई विभिन्न संघसंस्थाहरुमार्फत कृषकलाई तालिम समेत  दिन थालिन्।
खेर गएको फोेहरलाई प्रयोगमा ल्याउँदा दोहोरो फाइदा हुने दीपा बताउँछन्  । एक त गँड्यौला पालन गर्दा फोहरलाई तहलगाउन सकिन्छ भने  अर्को तर्फ प्रांगारिक मलबाट उत्पादन हुने तरकारीलगायतका बाली स्वस्थकर हुन्छ । दीपाले तालिम दिएर धेरै महिलाहरुले गँड्यौला पालन गरिरहेका छन् । उनीहरु गँड्यौलाले फोहर खाएर उत्पादन गरेको मल आफ्नै खेतबारीमा प्रयोग गर्छन् र आबश्यक  पर्नेहरुलाई बिक्री पनि गर्छन् ।
पढाइ एकातिर भए पनि दीपाले धेरै महिलालाई स्वरोजगार बन्न सघाएकी छन् । उनी आफैं पनि सफल उद्यमी बन्न सफल  भएकी छन्।उद्यम  नगर्दा महिलाहरु पकेट खर्च जुटाउन समेत परिवारका पुरुष सदस्यहरुमा आश्रीत हुनु पर्छ । सानातिना उद्यममा महिलालाई प्रोत्साहन गर्न सके बेरोजगारीको समस्या समाधान हुनुका साथै महिलाहरु आत्मनिर्भर बन्ने दीपाको धारणा छ । सानो उद्यम संचालन गर्न बीउ पूँजी जुटाउन महिलाहरुलाई निकै समस्या रहेको उनी बताउँछिन् । महिलाहरुलाई उद्यम गर्न सरकारले थोरै भए पनि बिनाधितो सहुलियत ब्याजदरमा बीउ पूँजी उपलब्ध गराए धेरै महिलालाई उद्यमी बनाउन सकिने उनी बताउँछिन् ।

Facebook Comments Box