कोरोनासँग लड्न प्रवासबाट गोर्खालीले पठाए ७० लाख बढिको सहयोग

प्रवास वैदेशिक रोजगार

गोरखा । कोरोना संक्रमण रोक्न गोरखाका स्थानीय तहलाई ठूलो सहयोग प्राप्त भएको छ । गोरखा स्थायी घर भइ विश्वका विभिन्न देश पुगेका गोरर्खालीहरुले संकलन गरेको ७० लाख रुपैयाँ स्थानीय तहलाई स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो ।

ग्लोबल गोरखा समाजले संकलन गरेको रकम मार्फत ४० थान अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको छ । ‘अहिले हामी कामका शिलशिलामा जहाँ पुगेपनि दुखःका बेला जिल्लाबासीलाई सहयोग गर्नु हाम्रा धर्म हो,’ ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारीले भने, ‘हाम्रो सानो सहयोगले दुरदरारमा रहेका सर्वसाधरणले अक्सिजनका अभावका कारण ज्यान गुमाउन पर्दैन भन्ने अपेक्षा छ ।’

समाजले गोरखा नगरपालिकाको फिनाम, आहाले, नारेश्वर र देउराली स्वास्थ्य चौकीका लागि १÷१ अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको छ । यसैगरी धार्चे गाउँपालिकाको लाप्राक र केरौंजा स्वास्थ्य चौकी, चुमनुब्री गाउँपालिकाको सामागाउँ र छेकम्पार स्वास्थ्य चौकी, अजिरकोट गाउँपालिकाको भच्चेक र सिम्जुङ स्वास्थ्य चौकीलाई पनि कन्सनट्रेटर सहयोग गरिएको अधिकारीले बताए ।

सिरानचोक गाउँपालिकाको थालाजुङ्ग, छोप्राक, गाँखु, हर्मी स्वास्थ्य चौकी र प्राथमिक केन्द्र जौवारी, बारपाक सुलिकोट गाउँपालिकाको ताकुमाझ लाकुरीबोट, पद्रुङ, स्वाँरा र देउराली स्वास्थ्य चौकीलाई पनि एक/एक थान अक्सिजन कन्सनट्रेटर उपलब्ध गराइएको छ ।

गण्डकी गाउँपालिकाको ताङिचोक, फुजेल, भुम्लीचोक स्वास्थ्य चौकी र ठूलो दर्बुङ्ग तथा गौरीचौतारा आधारभूत स्वास्थ्य केन्द्रमा पनि कन्सनट्रेटर सहयोग गरिएको समाजले जनाएको छ । त्यस्तै आरुघाट गाउँपालिकाको आरुआरवाङ, थुमी, थालचोक स्वास्थ्य चौकी र डाँडागाउँ आधारभूत स्वास्थ्य केन्द्रलाई पनि एक/एक थान अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको छ ।

पालुङटार नगरपालिकाको आँपपिपल अस्पताल, ठाँटीपोखरी, खोप्लाङ्ग स्वास्थ्य चौकी, गाइखुर स्वास्थ्य केन्द्र, भीमसेन थापा गाउँपालिकाको बगुवा, तान्द्राङ, खान्चोक स्वास्थ्य चौकी र महादेवटार आधारभूत स्वास्थ्य केन्द्रलाई पनि कन्सनट्रेटर उपलब्ध गराइएको छ । यसैगरी सहिद शखन गाउँपालिका घैरुङ, बक्राङ, ताक्लुङ स्वास्थ्य चौकी र बुंकोट आधारभूत स्वास्थ्य केन्द्रलाई समेत अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको समाजले जानकारी दिएको छ ।

जिल्ला समन्वय समिति गोरखाको परिसरमा आयोजित एक कार्यक्रमका वीच नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे र समाजका अध्यक्ष अधिकारीले सयुक्त रुपमा सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् । उक्त अबसरमा बोल्दै नेता पाण्डेले प्रवासीहरुले जिल्लाबासीको लागि महत्वपूर्ण सहयोग गरेको भन्दै धन्वाद समेत दिएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, नेकपा एमालेका कमल दानी, नेपाली कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, जनता समाजवादी पार्टी गोरखाका सचिव बिपिनचन्द्र ढकाल, नेपाल पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा, ग्लोबल गोरखा समाजका नेपाल स्थित समन्वय समितिका सदस्य मोहन भट्टराई, ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारी, नेपाल संयोजक बिनोद पोखरेल लगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments Box