सन्तोष खड्का
सौल, दक्षिण कोरिया
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया (NRNA KOREA)को आयोजनामा नेपाल सरकारका माननीय अर्थ मन्त्री जनार्दन शर्मा ( प्रभाकर)को प्रमुख आतिथ्यता एबं नेपाल राष्ट्र बैंकका गभर्नर श्री महा प्रसाद अधिकारी र अर्थ मन्त्रालयका सचिव मधु मरासिनीको बिशेष आतिथ्यतामा “श्रमको सम्मान,श्रमिकलाई बित्तिय ज्ञान “भन्ने मुल नाराका साथ नेपालमा लगानीको अवस्था र सम्भावना बिषयमा आधारित रहेर जुम मार्फत भर्चुअल अन्तरकृया कार्यक्रम यही आउँदो शनिवार कोरियन समय बेलुकी ठिक ८:00 बजे फ्रेबुअरी १२, २०२२ का दिन आयोजना हुन लागेको हो। यस कार्यक्रमले बिशेष रूपमा दक्षिण कोरियामा श्रम, ब्यापार, अध्यन एबं बिभिन्न सिलसिलामा बसोबास गरिरहेका सम्पूर्ण नेपालीहरु लाभान्वित हुन सक्ने बताउँदै गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष दिपक पुन मगरले कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरेका छन्।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया (NRNA KOREA) ले सम्मानित नेपाल सरकारको “आर्थिक बर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा” को बुदा न. ६८ मा भएको “गैर आवासीय नेपालीहरु तथा गैर आवासीय नेपालीहरु संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गर्नका लागि संचालनमा ल्याईएको एनआरएनएहरुका लागि डलर खाता साथै विदेशमा रहेका नेपालीहरुका लागि देशमा सुरक्षित आर्थिक लगानी एवं सम्भावना, वैधानिक रेमिटेन्सको महत्व, Cryptocurrency मा लगानी र देश को अर्थतन्त्रमा पर्ने प्रभाव लगायत अन्य विषयहरुमा जानकारीमुलक अनलाईन जुम भर्चुअल अन्तरकृया कार्यक्रम गर्न लागेको र यो कार्यक्रमबाट समग्र नेपाली अर्थतन्त्रको बृदि बिकासमा टेवा पुग्ने भएकोले कार्यक्रम सभ्य र भब्यताका साथ सम्पन्न गर्नको निम्ति दक्षिण कोरियामा भएका सम्पूर्ण नेपाली संघ सस्थाहरुलाई सहकार्यका लागि गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष सन्जिव राइले हार्दिक अपिल गरेका छन्।
नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको भुमिका महत्वपूर्ण रहेको तथ्यलाई जोड्दै NRNA KOREA का महासचिव रोशन भट्टराई ले यो कार्यक्रमबाट दक्षिण कोरियामा रहेका बहुसंख्यक नेपालीहरुले नेपाल पैसा पठाउन बैधानिक माध्यम प्रयोग गर्ने र यसले नेपाली अर्थतन्त्रको खस्केको अबस्थालाई सुधार गर्नका निम्ति अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्ने आफुले बुझेको साथै हुन्डी लगायत अन्य अबैधानिक माध्यमबाट नेपाल पैसा पठाउँदा राष्ट्रको अर्थतन्त्रमा गम्भीर असर पर्ने भएकोले NRNA KOREA को महत्वपूर्ण अभियान मध्ये बैधानिक रेमिट्यान्स नेपाल भित्राउने पनि भएकोले यो कार्यक्रममा गर्न लागिएको बताए।
कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको साथै दक्षिण कोरियामा भएका मिडिया एंव सञ्चार कर्मी साथीहरु, बिभिन्न संघसंस्थाहरू र सरोकारवालाहरूले पनि सहकार्यको लागि अनुरोध गरेकोले आफुहरू ज्यादै हर्षित भएको बताउँदै NRNA KOREA का प्रबक्ता सन्तोष खड्काले यस कार्यक्रममा जुमको भर्चुअल माध्यमबाट जोडिन सकिने साथै NRNA KOREA लगायत सम्पूर्ण मिडिया पाट्नरहरूको फेसबुक पेज बाट प्रत्यक्ष लाइभ गरिने भएकोले यो कार्यक्रमबाट दक्षिण कोरियामा रहेका नेपालीहरूमात्र नभई बिश्व भरि छरिएर रहेका नेपालीहरु लाभान्वित हुन सक्ने बताए।
आयोजकले कार्यक्रमको बारेमा जानकारी लिन परेको खण्डमा NRNA KOREA को फेसबुक पेजमा म्यासेज गर्न सकिनुको साथै कार्यालयको मोबाइल नम्बर 010-4155-3360 मा सम्पर्क गरेर जानकारी लिन सकिने बताएको छ।