काठमाडौँ, १ चैत : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतमा सडक दुर्घटनामा परी मृत्यु भएका तीन नेपाली श्रमिकको शव यथाशिघ्र नेपाल फर्काउने तयारी भइरहेको बताउनुभएको छ ।
उहाँले मृतकका शोक सन्तप्त परिवारजनमा गहिरो सम्वेदना व्यक्त गर्दै मृतक श्रमिकको परिवारलाई पाउने राहत प्रक्रियाअघि बढाउन निर्देशन दिनुभएको हो । मृतक श्रमिकको शव नेपाल फर्काउनका लागि कुवेतस्थित नेपाली दूतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल गर्न निर्देशन दिनुभएको मन्त्री अर्यालले राससलाई जानकारी दिनुभयो । उहाँले कुबेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मृतक श्रमिक र परिवारको विषयमा जानकारी लिनुभएको थियो ।
गत मङ्गलबार बिहान कुबेतको महाबुल्ला क्षेत्रको सी साइड सडकमा भएको दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपाली श्रमिकको मृत्यु भएको थियो । मृत्यु हुनेमा काठमाडौँ सानो भ¥याङका सुजन कार्की, अछामका सुरतबहादुर कडायत र धनुषाका धीरज गुर्मछान मगर रहेका छन् ।
मन्त्री अर्यालले कुबेतस्थित दूतावासले मृतक श्रमिकले पाउने क्षतिपूर्तिको निमित्त घटनाको प्रकृतिको सम्बन्धमा थप बुझ्न स्थानीय कानुन व्यवसायी परिचालन गरिएको बताउनुभयो ।