उपप्रधानमन्त्री सिंहसँग अमेरिका र दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट

अन्तराष्ट्रिय प्रवास समाचार

काठमाडौँ, १४ साउनः उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग आज नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसन र गणतन्त्र कोरियाका राजदूत पार्क ताय योङले छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटवार्तामा राजदूतहरुले उपप्रधानमन्त्री सिंहलाई बधाई दिनुका साथै विविध विषयमा छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ ।

अमेरिकी राजदूत थम्पसनसँगको भेटमा उपप्रधानमन्त्री सिंहले स्वच्छ र व्यवस्थित सहर निर्माण, फोहोरमैला व्यवस्थापन, नदीको स्वच्छता, संस्थागत क्षमता विकास, जलवायु परिवर्तनको असर न्यूनीकरणका क्षेत्रमा सहकार्यका लागि आग्रह गर्नुभएको भेटमा सहभागी मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उपप्रधानमन्त्री सिंहले सहरी क्षेत्र र समग्र नेपालको आर्थिक विकासमा अहिले भएको सहयोग, यसको निरन्तरता र सहरी विकासमा प्राप्त सहयोगको निरन्तरता र थप सहयोगका क्षेत्रबारे छलफल गर्नुभयो ।”

यस्तै, गणतन्त्र कोरियाका राजदूत योङसँग सहकार्यका विषयमा कुराकानी भएको उहाँले जानकारी दिनुभयो । सो अवसरमा उहाँहरुबीच ईपीएस प्रणालीमार्फत विदेश जाने कामदारको सङ्ख्या बढाउने विषयमा छलफल भएको थियो ।

Facebook Comments Box