बङ्गलादेशका प्रदर्शनकारीहरू विरुद्ध ’अत्यधिक बल’ प्रयोग गरेकोमा ईयूको चिन्ता

अन्तराष्ट्रिय प्रवास

कम्तिमा २०६ जनाको ज्यान जाने गरी भएको हिंसापछि युरोपेली सङ्घ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले मङ्गलबार बङ्गलादेशमा प्रदर्शनकारीहरू विरुद्ध “अत्यधिक“ बल प्रयोगको निन्दा गर्नुभएको छ ।

यस महिना सरकारी सेवामा आरक्षण प्रणालीको विरोधमा भएको विद्यार्थीहरूको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । प्रहरी र अस्पतालको तथ्याङ्क अनुसार घटनामा प्रहरी अधिकारीहरूको पनि ज्यान गएको थियो । बोरेलले बङ्गलादेशको हिंसाले निम्त्याएको मृत्यु, यातना, सामूहिक गिरफ्तारी र सम्पत्तिको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले अनुसन्धान गर्न र जिम्मेवारलाई न्यायको कठघरामा ल्याउन आह्वान गर्नुभएको छ ।

“कानून प्रवर्तन अधिकारीहरू प्रदर्शनकारी र अन्य विरुद्ध अत्यधिक र घातक बल प्रयोग गरेको थुप्रै उदाहरणका लागि पूर्ण जवाफदेही हुनुपर्छ”, उहाँले एक विज्ञप्तिमार्फत भन्नुभयो । “हामी यस सङ्कटको समयमा जिम्मेवार अधिकारीको कार्यहरू नजिकबाट पछ्याइरहेका छौँ । ईयू–बङ्गलादेश सम्बन्धको आधारभूत कुरालाई ध्यानमा राख्दै सबै मानव अधिकारको पूर्ण सम्मान हुने अपेक्षा गर्दछौं”, उहाँले बताउनुभयो । प्रधानमन्त्री शेख हसिनाको १५ वर्षको कार्यकालमा भएको यो सबैभन्दा घातक झडप हो तर उहाँको सरकारले व्यापक विरोध विरुद्ध गिरफ्तारी, सेना परिचालन र राष्ट्रव्यापी इन्टरनेट कटौतीजस्ता विभिन्न तरिका अपनाएर व्यवस्था पुनर्स्थापित गरेको छ ।

Facebook Comments Box