काठमाडौँ, १४ भदौः छुनुमुनुको आयोजनामा ‘छुनुमुनु नेपाल–भारत बाल नाटक महोत्सव २०८१’ सुरु भएको छ । आजदेखि भदौ २० गतेसम्म नेपाल फिल्म क्याम्पसमा महोत्सव सुरु भएको हो ।
महोत्सवको आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईले शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा उहाँले नाटक क्षेत्रको विकासका लागि प्रतिष्ठानले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्माले बाल्यकालदेखि नै नाटकमा बालबालिकालाई लगाउन सके नाट्य क्षेत्रको विकासमा योगदान पुग्ने विचार व्यक्त गर्नुभयो ।
नेपाल र भारतका कलाकारलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्न महोत्सव आयोजना गरिएको निर्देशक प्रभाकर न्यौपानेले बताउनुभयो । कार्यक्रमले विद्यालयमा पढ्ने विद्यार्थीको प्रतिभा प्रस्फुटनसहित मञ्च प्रदान गर्न सहयोग गर्नेछ । आगामी दिनमा यसको निरन्तरताका लागि प्रयास गरिने पनि उहाँले बताउनुभयो ।
छुनुमुनुले हालसम्म देशभरिका २८ बढी विद्यालयमा अध्ययनरत करिब तीन हजार बढी विद्यार्थीलाई रङ्गमञ्च र अभिनयसम्बन्धी सैद्धान्तिक ज्ञान प्रदान गर्दै आएको छ । भारतका नाटक विद्यालय चार, नेपालको आठमध्ये उपत्यका बाहिरका दुईवटा, सामुदायिक एउटा र पाँचवटा संस्थागत विद्यालयका विद्यार्थीले नाटक मञ्चन गर्नेछन् ।
कला निर्देशक राजन भुजेलले दुई देशबीचको सांस्कृतिक पक्ष आदानप्रदान, कार्यशैली, नाटक, अन्तरसम्बन्धलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने उद्देश्यले बाल नाटक महोत्सव आयोजना गरिएको हो । छवटा संस्थागत विद्यालय सह–आयोजकका रूपमा रहेका छन् । महोत्सवको समन्वयकर्ताका रूपमा मानस निरौला रहनुभएको बताउनुभयो ।
महोत्सवको सह–आयोजकका रूपमा, डियरवाक सिफल स्कुल, श्री चाँगुनारायण माध्यमिक विद्यालय, नेक्सस इन्टरनेसनल एकेडेमी, बज्र एकेडेमी, रिभेरा इन्टरनेसनल एकेडेमी र भ्याली भ्यू स्कुल रहेका छन् ।
त्यसैगरी, पहिलो दिन आज लेखक तथा निर्देशक राजन भुजेलको नाटक ‘फस्ट’ भ्याली भ्यू स्कुलका विद्यार्थीको नाटक मञ्चन भएको छ । दोस्रो दिन राजन भुजेलकै निर्देशनमा डियरवाक स्कुलको नाटक ‘जुनेली’, तेस्रो दिन सबिन कट्टेलको निर्देशनमा रिभेरन स्कुलको नाटक ‘कालकोठरी’, चौथो दिन सबिन कट्टेलको निर्देशनमा नेक्सन एकेडेमीको नाटक ‘पोशाक’ मञ्चन हँुदैछ ।
यसैगरी, कोलकत्ता इएस्ओ नाटक शिखीको डा तपस दासद्वारा निर्देशित नाटक ‘ए मेरो देश’ र पाचौँ दिन चाँगुनारायण माविका मञ्जु गिरिद्वारा निर्देशित नाटक सिम्रिकको ‘अठोट’, त्यस्तै, सोही दिन निसम्बिता स्कूल अफ ड्रिमको डा राम होलागुण्डीद्वारा निर्देशित ‘मिट्टि कि खोलनी’ नाटक मञ्चन हुँदैछ । अन्तिम दिन एभरेष्ट स्कूलको सुमन जीवनद्वारा निर्देशित नाटक ‘सीबियु चरी’ र हरिकुल नाटक समूहको दिनेशराज शर्माद्वारा निर्देशित नाटक ‘मौन हल्ला’ मञ्चन हुने आयोजक संस्थाले जनाएको छ । महोत्सवमा करिब १० वटा नाटक मञ्चन हुने जनाइएको छ ।
–––