श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच शिष्टाचार भेट

अन्तराष्ट्रिय प्रवास मुख्य समाचार

काठमाडौँ, १२ मङ्सिर : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

आज मन्त्रालयमा भएको उक्त भेटवार्तामा नेपाल र इजरायलबीच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन, ‘केयरगिभर’का रुपमा छनोट भएका नेपाली कामदारहरुलाई यथाशीघ्र इजरायल पठाउने र कामदारको स्रोत मुलुकका रुपमा नेपाललाई इजरायलले सूचीकृत गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले मन्त्री भण्डारी र राजदूत बासबीच कृषि, निर्माणलगायत अन्य क्षेत्रमा नेपाली कामदार पठाउनका लागि पहल गर्ने, कृषि प्रविधि हस्तान्तरण गर्ने, सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको हकअधिकार संरक्षण र सुरक्षालगायत विषयमा दुवै देशबीच थप कूटनीतिक पहल गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

राजदूत बासले नेपाली कामदार केयरगिभिङका क्षेत्रमा उत्कृष्ट रहँदै आएको र हाल इजरायलमा युद्धविरामसमेत घोषणा भइसकेको हुँदा उत्तीर्ण भएका सबै नेपाली कामदारहरुलाई क्रमशः लैजाने जानकारी गराउनुभएको थियो । उहाँले नेपाली कामदारहरुलाई कृषि, निर्माणलगायत अन्य क्षेत्रमासमेत लैजान सकिने बताउनुभयो ।

मन्त्री भण्डारीले इजरायल जान छनोट भई पर्खाईमा रहेका नेपाली कामदारलाई यथाशीघ्र पठाउन परराष्ट्र मन्त्रालयसँग समन्वय र पहल गर्ने बताउनुभयो ।

Facebook Comments Box