कायरोमा विद्यालयस्तरीय कला प्रतियोगिता

प्रवास वैदेशिक रोजगार

काठमाडौँ, ८ पुस : नेपाली राजदूतावास कायरो, इजिप्ट सर्वोच्च सांस्कृतिक परिषद् र राष्ट्रिय बाल संस्कृति केन्द्रद्वारा विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाको सहभागितामा आइतबार कायरोमा नेपाल–इजिप्ट सांस्कृतिक महोत्सव आयोजना गरियो ।

कायरोस्थित सैयदा जयनबस्थित बाल उद्यानमा आयोजित कार्यक्रम विद्यालयस्तरीय कला प्रतियोगितामा भाग लिने इजिप्सियन बालबालिकाले चित्रकला तथा काष्ठकलाका माध्यमबाट नेपालको विविधतापूर्ण प्राकृतिक, सामाजिक र सांस्कृतिक सम्पदाको चित्रण गरेका दूतावासले जनाएको छ ।

दूतावासका अनुसार, प्रतियोगितामा सहभागी बालबालिकाले नेपालको कला, संस्कृति, इतिहास, प्राकृतिक सम्पदा र जनजीवन झल्किने पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, तलेजु भवानी, हिमाल, बुद्ध, कुमारी आदिको तस्बीर उतारेका थिए ।

त्यसअवसरमा नेपालसम्बन्धी प्रदर्शनी तथा कार्यशालाको पनि आयोजना गरिएको थियो । प्रतियोगितामा कायरोका विभिन्न स्कुलमा अध्ययनरत करिब एक सय जना इजिप्सियन विद्यार्थीको सहभागी थिए ।

अरब गणतन्त्र इजिप्टका लागि नेपालका राजदूत सुशीलकुमार लम्साल, इजिप्ट सर्वोच्च सांस्कृतिक परिषद्का महासचिव प्राडा अशरफ अजाजी तथा इजिप्ट राष्ट्रिय बालसंस्कृति केन्द्रका प्रमुख अहमद अब्देल अलिमले कार्यक्रमको संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।

उक्त अवसरमा राजदूत लम्सालले इजिप्टका बालबालिकामाझ नेपालको सांस्कृतिक र प्राकृतिक विशिष्टता एवं नेपाल–इजिप्ट सम्बन्धबारे जानकारी प्रदान गर्न कार्यक्रमले मद्दत पु¥याएको बताउनुभयो । सांस्कृतिक परिषद्का महासचिव अजाजी तथा राष्ट्रिय बालसंस्कृति केन्द्रका प्रमुख अलिमले सहभागी विद्यार्थीको सिर्जनशील कलाको प्रशंसा गर्दै आगामी दिनमा यस्ता कार्यक्रमको निरन्तरता रहिरहने विश्वास प्रकट गर्नुभयो ।

त्यसअवसरमा राजदूत लम्सालले प्रतियोगितामा दशौँ स्थानसम्म हासिल गर्ने विद्यार्थीलाई पदक तथा सहभागी विद्यार्थीलाई प्रशंसापत्र प्रदान गर्नुभएको दूतावासले जनाएको छ । कार्यक्रममा इजिप्सियन नृत्यसहितको सांस्कृतिक कार्यक्रम, नेपाली कलाकृति तथा हस्तकला र बालसंस्कृतिसँग सम्बन्धित विविध सामग्रीको प्रदर्शनी गरिएको जानकारी दिइएको छ ।

Facebook Comments Box