हेल्प नेपाल नेटवर्कको २५औँ वार्षिकोत्सव सम्पन्न

प्रवास समाचार

काठमाडौँ, १३ पुसः हेल्प नेपाल नेटवर्कले समाजका विविध क्षेत्रमा योगदान पुर्‍याएका तीन जनालाई अभिनन्दन गरी २५औँ वार्षिकोत्सव मनाएको छ ।

आज यहाँ नेटवर्कद्वारा रजतजयन्तीका अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, समाजसेवी सविता उप्रेती र मानवसेवा आश्रमका लागि संस्थापकद्वय रामजी अधिकारी र सुशीला केसीलाई अभिनन्दन गरी वार्षिकोत्सव मनाएको हो ।

वरिष्ठ नेत्र विशेषज्ञ डा सन्दुक रुईतले दुई जना व्यक्ति र संस्थागत रूपमा मानवसेवा आश्रमका लागि संस्थापकद्वय अधिकारी र केसीलाई अभिनन्दन गर्नुभएको थियो ।

वरिष्ठ नेत्र विशेषज्ञ डा रुईतले केही वर्षपछि नेपाल पनि अन्वेषण केन्द्र बन्नसक्ने भन्दै यसका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मेचीदेखि महाकालीसम्म होइन विश्वभर नै नेपाली पुगेका छन् । सबै क्षेत्रमा रहेका बौद्विक सम्पत्तिलाई कसरी मुलुकमा भित्र्याउन सकिन्छ भन्नेतर्फ सबैले योजना बनाउनुपर्छ । उहाँहरूले सिकेका सीप, संस्कार र सुशासन नेपालमा पनि आएर सिकाउनुपर्छ ।” कार्यक्रममा उद्योगपति उपेन्द्र महतोले दृढ सङ्कल्प राखेमा छोटो समयमा पनि मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राख्नुभयो ।

हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेतले २५ वर्ष अगाडि नेपाली–नेपालीबीच समन्वय गरी महिनाको एक डलर वा एक पाउण्ड उठाएर नेपालमा सहयोग गर्ने अवधारणासहित स्थापित यस संस्थाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । उहाँले स्थापनाकालमा देखेको समपनाले आज मूर्तरुप पाएको उल्लेख गर्नुभयो ।

नेटवर्कका सचिव डा लता घिमिरेले समाजसेवाको दायित्वबोधका कारण संस्थाले यहाँसम्मको बाटो तय गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले स्थानीय तहलाई साझेदार बनाएर काम गरेका छौँ । भूकम्प, कोभिड, बाढीपहिरोलगायत आपत्कालीन अवस्थामा सहकार्यमा काम गरिरहेका छौँ । सानो सहयोगले पनि निकै ठूलो खुसी दिनसक्छ भन्ने हाम्रो सन्देश हो ।” सन् १९९९ मा स्थापना भएको हेल्प नेपाल नेटवर्कले शिक्षा, स्वास्थ्यलगायत विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।

Facebook Comments Box