काठमाडौँ, १४ पुस : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
मन्त्री डा राणाले आज साँझ काठमाडौँस्थित भारतीय राजदूतावासमा पुगी स्व सिंहको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । उहाँले सो शोक पुस्तिकामा भारतका पूर्वप्रधानमन्त्री डा सिंह एक प्रजातन्त्रवादी दूरदर्शी नेता तथा नेपालका सच्चा मित्र हुनुहुन्थ्यो भन्नुभएको छ ।
उक्त पुस्तिकामा मन्त्री डा राणाले स्व सिंहले नेपालमा लोकतन्त्र र विकासका लागि सधैँ सहयोग गर्नुभएको स्मरण गर्दै सो सहयोग र समर्थनका कारण उहाँ सधैँ नेपाली जनताको स्मृतिमा रहने पनि उल्लेख गर्नुभएको छ । मन्त्री डा राणाले उहाँको निधनले नेपालले आफ्ना एक सच्चा मित्र तथा शुभचिन्तक गुमाएको बताउनुभएको छ ।
भारतीय पूर्वप्रधानमन्त्री डा सिंहको उपचारका क्रममा गत बिहीबार ९२ वर्षको उमेरमा निधन भएको थियो ।