अमेरिका । बोस्टनमा ‘अन्जु पन्त सुमधुर सन्ध्या बोस्टन’ सम्पन्न भएको छ। २२ जुलाई अर्थात् आइतवार साँझ सम्पन्न उक्त सुमधुर सन्ध्या भव्य रुपमा सफल भएको कार्यक्रम संयोजक सुरेश वाग्लेले जानकारी गराए।
संयोजक वाग्लेले छोटो समयको तयारीमा पनि एतिहासिक कार्यक्रम सम्पन्न गर्न पाएकोमा निकै खुसी लागेको बताए ।
अमेरिकास्थित बोस्टनको आर्लिंगटन शहरको ‘रिजेन्ट थिएटर’ सम्पन्न उत्त सुमधुर सन्ध्यामा बोस्टन आसपासका नेपालीहरूको वाक्लो उपस्थिति रहेको थियो।
गायिका अन्जु पन्तको तेस्रो एकल गायन साँझका रूपमा सम्पन्न सुमधुर सन्ध्यामा उनले ‘न बिर्सें तिमीलाई’, ‘पूर्व पश्चिम रेल’, ‘सुर्के थैली खै’, ‘म यस्तो गीत गाउँछु’, ‘भन्छु आज’, ‘तिमी रोएको पल’लगायत दुई दर्जन गीत–गजल सुनाएर साङ्गीतक साँझलाई भव्य र सभ्य बनाएकी थिइन्।
गायिका अन्जुको उक्त एकल साझमा सारङ्गीमा श्याम नेपाली, तवलामा सागर खतिवडा, बाँसुरीमा रञ्जन बुढाथोकी, ढोलकमा राज कपुर, ड्रममा उज्वल धौभडेल, किवोर्डमा अनुप भण्डारी, गीतारमा शैलेन्द्र सिंह, गीतारमा सुशील घिमिरे, मादलमा अनुभव थपलियाले र प्रवीन परियारले गायनमा साथ दिएका थिए।
आधुनिक र पाश्र्वगायनमा ख्याति प्राप्त गायिका अन्जुको अमेरिकामा यो नै पहिलो एकल गायन साँझ हो।
कार्यक्रममा गायिका अन्जु पन्तलाई हिमालयन हेरिटेज कल्चरल एकेडेमीका अध्यक्ष सुरेश वाग्ले र ग्रेटर बोस्टन नेपाली कम्युनिटीका अध्यक्ष विष्णुमणि आचार्यले सम्मान समेत गरेका थिए । हिमालय हेरिटेज कल्चरल एकडेमीको आयोजनामा सम्पन्न उक्त कार्यक्रम निकै उत्कृष्ट भएकोमा आफू निकै खुसी भएको गायिका अन्जुले बताइन्।
विगत केही बर्ष यता ‘अन्जु पन्त फाउन्डेसन’ नामक सामाजिक संस्था मार्फत् समाज सेवामा आवद्ध अन्जुले उक्त आयोजित एकल साँझबाट प्राप्त आम्दानीलाई पनि उक्त फाउन्डेसनमार्फत् सामाजिक सेवामा नै प्रयोग गर्ने अठोट समेत गरिन्।