दशैँ चाड हाम्रो एउटा संस्कार हो, परम्परा हो

कोरियाअपडेट प्रवास समाचार

टंक गौतम

बरिष्ठ उपाध्यक्ष

 रामेछाप सम्पकॅ समिति, दक्षिण कोरिया 

दशैं वा बडा दशैं ,विजया दशमी नवरात्र नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैं आश्विन महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन विहान दशमी का दिन आफूभन्दा ठुला मान्यजनहरुको हात बाट टीका जमारा र प्रसाद ग्रहण गरेर विशेष रुपमा पुर्णिमा सम्म टीका जमरा ग्रहण गरि मनाउने गर्छन् । विजयादशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । बताइन्छ कि भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो । टाढा टाढा रहेका आफन्त तथा मान्यजन लाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूणिर्मा सम्म गरिन्छ । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार दान दक्षिणा , मिठो खाना खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । टीका ग्रहण गर्दा तलको श्लोक वाचन गर्दै मान्यजन ले आशीर्वाद दिने चलन छ।

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्‍योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥

द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ ।मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । मजिठोको रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ भन्ने पौराणिक बिश्वास गरिन्छ।

दशै चाड हाम्रो एउटा संस्कार हो, परम्परा हो , अझ भन्ने हो भने धेरै समयसम्म आफन्त बाट टाढा टाढा रहेर या ब्यस्त भएर मिलन हुन नसकेका आत्मीय मन हरू लाई मिलन गराउने, खुसी दिलाउने एउटा माध्यम पनि हो। धेरै लामो समय सम्म को दुख गरे पश्चात् सबै साथीभाइ परिवार ,आफन्तहरु सँग भेटघाट जमघट गराउने सुख दुख बिसाएर , थकान मेटाउने एउटा साझा चौतारी हो यो प्रक्रिया लाई निरन्तरता दिनु हाम्रो कर्तव्य हो।


आजभोलि दशै लाई विगतको झै रमझम र सौम्य तरिकाले न मनाएको हो कि जस्तो अनुभव धेरैले न गरेको होईन । धेरै तडक भडक र देखावटी पनले आज कयौं दुखी गरीब नेपाली को लागि दशै दशा साबित भएको प्रष्ट देख्न सकिन्छ , अरुको देखावटी को लागी भए पनि ऋण गरेर दशै मान्नुपर्ने बाध्यता सिर्जना भएको छ। अझ विभिन्न समाजिक संजाल र प्रबिधि ले पनि यस्ता चाडपर्व मनाउन र दैनिक जीवनका हरेक क्रियाकलाप मा आर्थिक बोझ गराउन मद्धत गरिरहेका छन । यस्ता यावत समस्याग्रस्त हाम्रो महान चाड दशै लाई आफ्नो क्षमता हेरि खर्च गरौं अझ भन्नु पर्दा घाँटी हेरि हड्डी निल्ने कोसिस गरौं। संस्कार , रीतिरिवाज लाई सौम्य तरिकाले भावी सन्ततिलाई हस्तान्तरण गर्ने वातावरण सिर्जना गरौं , अनियंत्रित भड्किलो खर्च लाई नियन्त्रण गरौं , देखावटी लाई बन्द गरौं आपसी भाइचारा र सद्भाव लाई कायम राखौं। समाजिक विकृति, विसंगति र छुवाछूत लाई जरैदेखि निर्मूल पारौं , धार्मिक सहिष्णुता कायम गरौं, ठुला लाई आदार र सम्मान गरौं, साना लाई माया गरौं माता नवदुर्गा भवानी सम्पुर्ण प्रा‍णी जगतको कल्याण गरुन् , सम्पुर्ण देश तथा विदेश मा रहनु हुने समस्त नेपालीआमा बुबा , दाजुभाइ तथा दिदीबहिनी हरु को सु-स्वस्थ्य तथा दिर्घायु अनि उत्तरोत्तर प्रगतिको कामना गर्दै बाकी जिबन सुखमय रहोस् बिजया दशमी २०७६ को हार्दिक मंगलमय शुभकामना 🙏🙏🙏

टंक गौतम रामेछाप,  हाल : दक्षिण कोरिया

Facebook Comments Box