बर्लिनमा नेपाली राष्ट्रिय दिवस

प्रवास समाचार

काठमाडौँ | ४ असोज (रासस) : नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास बर्लिनले आज एक विशेष कार्यक्रमको आयोजना गर्य ।

उक्त कार्यक्रममा जर्मनीको परराष्ट्र मन्त्रालयका एशिया तथा प्यासिफिक डिभिजनको महानिर्देशक लगायत विभिन्न निकायका विशिष्ट अधिकारीहरु, जर्मनीका विशिष्ट व्यक्तित्वहरु तथा जर्मनीमा रहेका नेपालीहरुको उपस्थिति रहेको नेपाली राजदूतावास बर्लिनले जनाएको छ ।

नेपाल तथा जर्मनीको राष्ट्रिय धुनसहित शुरु भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले नेपालको संविधानको विविध पक्षबारे चर्चा गर्दै नेपाल र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पूरा भएको सन्दर्भमा यो सम्बन्ध थप प्रगाढ र सुदृढ हुदै गएको बताउनुभयो ।

जर्मनीका परराष्ट्र मन्त्रालयका दक्षिण एशिया कमिस्नर मार्कस पोटजेलले नेपालको राष्ट्रिय दिवसको उपलक्ष्यमा शुभकामना दिँदै नेपाल जर्मनीको भरपर्दो मित्र रहेको र आउँदा दिनमा यो मित्रता झन प्रगाढ हुने आशा व्यक्त गर्नुभयो ।

समारोहमा बर्लिनमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा नेपालको विविधता झल्काउने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Facebook Comments Box