काठमाडौं । कामदार लैजाने प्रक्रिया सहजीकरणका लागि जापानले सह–सचिवस्तरीय संयुक्त कार्यदल गठनको अवधारणा अघि सारेको छ । २ देशबीच गठन हुने संयुक्त कार्यदलले परीक्षार्थीको सख्या र परीक्षामा सहभागी गराउने विधिबारे छलफल गर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालले जानकारी दिए ।
जापानले आवेदकहरूलाई गोलाप्रथाबाट छानेर भाषा परीक्षामा सहभागी गराउने प्रणाली अपनाएको छ । तर गोला प्रथा प्रणालीमा मन्त्रालयको असहमति रहेको छ । गोलाप्रथा प्रणालीबाट योग्य व्यक्ति बाहिरिने र अयोग्य छानिने भएकाले परीक्षामा सबै आवेदकलाई सहभागी गराइनुपर्ने नेपाली पक्षको मत छ । त्यसमा जापानी पक्ष लचिलो बनेको बताइन्छ ।
नेपाल र जापान सरकारबीच गत वर्ष नै नेपाली कामदार लैजाने समझदारी भए पनि हालसम्म सुरु हुन सकेको छैन । जापानले समझदारी अनुसार शुरुमा नर्सिंङ केयर कामदार लैजाने बताएको थियो । तर पछिल्ला दिनमा खुला रहेका अन्य १३ वटा क्षेत्रमा पनि नेपाली कामदार लैजान चाहेको छ । यहीबीच जापानले यसबारे छलफल गर्न संयुक्त कार्यदलको अवधारणा अघि सारेको हो ।
स्रोतका अनुसार, यही विषयमा छलफल गर्न जापानले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादवलाई जापान भ्रमणको निम्तो दिएको छ । सुरक्षित गन्तव्यसँगै आकर्षक तलब भएकाले जापानको रोजगारीमा अत्यधिक आकर्षण छ । गत वर्ष नर्सिङ केअरगिभरको रोजगारीमा जान करिब १३ हजारले आवेदन दिएका थिए । त्यसमध्ये गोलाप्रथाबाट छनौट गर्दा १ हजार जना परीक्षाका लागि छानिएका थिए । तर भाषा परिक्षा उत्तीर्ण गर्नेहरूको संख्या अत्यन्त न्यून रहेको छ ।
रोजगारीका लागि जापान जान चाहनेहरूका लागि जापान फाउन्डेशनले वर्षभरि नै परिक्षा सञ्चालन गर्ने बताएको छ । गत जनवरीमा एक हजार जनाको परीक्षा लिएको फाउण्डेनले आगामी मार्चमा १ हजार ३ सय जनाको परीक्षा लिन तालिका समेत सार्वजनिक गरिसकेको छ ।