काठमाडौँ | ७ असोज : पर्यटन एक्स्पो जापान (जाटा) मा नेपालको प्रवद्र्धन गरिएको छ ।
यही असोज ४ देखि ७ गतेसम्मा टोक्यो बिगसाइटमा सफलताका साथ सम्पन्न एक्सपोमा नेपालको पर्यटकीय गन्तव्य तथा सेवाको प्रवद्र्धन गरिएको हो । सहभागी गन्तव्यका लागि उत्कृष्ट मञ्च मानिने एक्स्पोमा सम्पन्न व्यापार बैठकमा नेपालको सहभागिता अझ बढी प्रभावकारी भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
एक्स्पोमा नेपालका तर्फबाट बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगमको सहयोग तथा निजी क्षेत्रबाट चार पर्यटन कम्पनीहरु अराउन्ड द हिमालयज, लिबर्टी होलिडेज, होटल शम्बला र नेत्र ट्राभल्स एण्ड टुर्सको सहभागिता थियो ।
उक्त ‘प्लेटफर्म’ नेपालका बारेमा नयाँ जानकारी अद्यावधिक गर्न, व्यवसायीसँग सम्वाद गर्न र जापानी बजारमा गन्तव्यको रुपमा नेपाललाई स्थापित गर्न सहयोगी बनेको बोर्डद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अझ महत्वपूर्ण रुपमा निगमले निकट भविश्यमा नै गर्न लागेको सीधा उडानको खबरले उपस्थित जापानीहरु र पर्यटन आबद्ध सम्पूर्णमा आशाको सञ्चार गरेको बताइएको छ ।
जापान मुख्य रूपमा बौद्धमार्गी बढी बस्ने नेपालका लागि एक स्थापित बजार हो । धेरै जापानीहरु नेपाललाई भगवान् बुद्धको जन्मस्थान, एक तीर्थस्थान गन्तव्य, आध्यात्मिक उपचारको केन्द्रका रुपमा धेरै माया गर्छन् । उनीहरु प्राय काठमाडौँ, लुम्बिनी, पोखरा, चितवन घुम्ने र अन्नपूर्ण वा एभरेस्ट क्षेत्रमा पदयात्रामा जाने गरेका छन् । नेपालमा आउने जापानी पर्यटक शिक्षित र धेरै खर्च गर्नसक्ने आउने हुँदा पर्यटन बजारका रुपमा जापानले विशेष महत्व राख्ने बोर्डको भनाइ छ ।
सन् २०१७ मा नेपालमा करीब दश लाखको हाराहारीमा विदेशी पर्यटकको आगमन भएकामा करीब अठार हजार जापानी पर्यटक आएका थिए । सन् २०१९को पर्यटन एक्स्पो जापानको ओशाका शहरमा अक्टोबर २४—२७ मा हुुने तय भएको छ ।