कर्णालीका मुख्यमन्त्री शाहीको सचिवालयमा हेरफेर

समाचार
कामदार दैनिक
कर्णाली ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालय हेरफेर गर्नुभएको छ । उहाँले सचिवालयमा जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय र स्वकीय सचिव पदमा नयाँ व्यक्तिलाई नियुक्त गर्नुभएको हो । उहाँले जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक (विकल्प जुम्ली), प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य र स्वकीय सचिवमा रवीन्द्र शाहीलाई नियुक्त गरिएको बताउनुभयो । पार्टीका अन्य नेता कार्यकर्तालाई पनि अवसर प्रदान गर्ने हेतुले सचिवालय हेरफेर गरिएको जनाउँदै यसमा अन्य कुनै कारण नभएको मुख्यमन्त्री शाहीले बताउनुभयो ।

तीन वर्षसम्म सचिवालयमा रहेर काम गर्नुभएका जनसम्पर्क सल्लाहकार जनकनाथ योगी, प्रमुख स्वकीय सचिव खेमबहादुर सिंह र स्वकीय सुमन शाहीलाई आजै बिदाइ गरिएको छ । यही फागुन २ गते कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले पनि आफ्नो पदबाट राजीनामा दिनुभएको थियो । मुख्य न्यायाधिवक्ताको राजीनामा स्वीकृतिका बारेमा भने प्रदेश सरकारले जानकारी गराएको छैन ।

 

Facebook Comments Box