अचेल, आमा सम्झिन समय छैन(कविता)

समाचार साहित्य

-घरडी कमलेस

आज,
बिहानै धुत्रीएको एल्बममा
बर्षौ पुरानो
आमाको ‘ब्ल्याक एन ह्वाइट’ तस्बिर खोज्नु छ
सामाजिक संजालमा पोस्ट गरेर
पर्याप्त सहानुभूति जो पाउनु छ
त्यसैले त म आफ्नो किम्ती समय खर्चिरहेको छु
खासमा अचेल म संग समय छैन

 

गरिबी अनि झुपडीमा जन्मिए
आमा भोको बसेर नि मेरो पेट खाली भएन
बन बेतको अधुमिलो अहारिताका बाबजुद
मलाई पढ्न शहर पठाइयो
त्यो बेला लाग्थ्यो बा-आमालाई भगवान हुन्
लाग्न त अहिले पनि लाग्छ
तर अहिले बा-आमा सम्झिने समय छैन

 

आमाले अरुको खेतमा काम गरेर
मलाई कुर्सीसम्म पुर्‍याउन मरिहत्ते गरिन
तर अचेल कुर्सी छ
थोरै सम्मान र आत्मसन्तुष्टि पनि छ, तर
उहाँको अदाकारी सम्झिने समय छैन

 

दन्त्यकथा नसुनी नसुत्ने म
उहाँले भनेको नटेर्ने म
मैले सोचेनुसार नभए रुने म
घुर्की लगाएर भएनी मनोमानी गर्ने म
उहाँलाई नसताइ नसुत्ने म
आज पनि त उहाँलाई सताएकै छु
उहालाई रुवाएकै छ
बस् , उहाको आवाज मेरो कान सम्म आउन्न
किनकि आजभोली उहाँ बृद्धाश्रममा हुनुहुन्छ
किनकी म संग उहाँको सेवा गर्ने समय छैन

 

सानो छदा पो उहाँहरु मेरो लागि सर्वस्व हुनुहुन्थ्यो
अहिले म पनि मेरो परिवारको लागि सर्वस्व छु
र पो समय छैन

 

अब एक फोटो अपलोड गर्नु छ
रियाक्ट र प्रतिक्रियामा मख्ख पर्नु छ
आएको प्रतिक्रियामा मैले पनि रियाक्ट गर्नु छ
बा-आमाप्रति माया दर्साउन
धन्न यो सामाजिक संजाल छ
र पो अरुलाई देखाउन
एक दिन भएपनि सम्झिन पाइएको छ
नत्र अचेल मसंग समय छैन!!

Facebook Comments Box