मलाई त्यो घर फर्किनु छैन(कबिता)

समाचार साहित्य

-कमलेश घरेडि

मलाई त्यो घर फर्किनु छैन

एक बञ्जर हवेलिको
कुण्ठित मानसिकता अभर पर्‍यो
म म हुन पाएन त्यो देखि

थान्का थान सपना
बिसाउने थल प्रयाप्त भएन
फराकिला कोठाका
साघुरिला मनमा
मेरा प्रयत्नका खान्की
थन्केर आहात भए

मन्को घुमाइलो रन्कोमा
मेरो चित्कारको प्रतिध्वनी आएन
रोएको मनको बाध
रोदनको हासोले छोप्न सकिएन

घरको चौखट भित्र
मेरो र सुगाको उहीँ हाल छ
पिजडाले उकुसमुकुस बनाउछ उस्लाई
बचनले मलाई
फरक यत्ती हो
उस्ले मनलाग्दी कराउन पा’छ
अझ मेरो नक्कल हुबहु गर्छ
अफसोस मैले मेरै नक्कल गर्न सक्दिन्

अब कहिँ टाढा जानू छ
यो सम्झिने मनलाई सम्झाउनु छ
मनलाग्दी हास्न र रुनु छ
सबैभन्दा ठुलो कुरा
यो निर्दयी घरको संघार
र जंघार एकै चोटि तर्नु छ
साथमा नक्कले सुगालाई अनि
साङ्लोको पेच हटाउनु छ कुकुरको
र यो मानव निर्मित
नर्कबाट पार लाउनु छ

अहिलेसम्म पनि,
न मैले कुकुर बिर्से
न कुकुरले मलाई
दुबै मिलि बिर्सेको घर हो
उस्ले घर भित्र प्रवेश पाएन
मैले घर भित्रका मान्छेको मनमा

Facebook Comments Box