नेपाल साहित्यिक पत्रकार सङ्घको चौथो राष्ट्रिय सम्मेलन काभ्रेमा

समाचार साहित्य

नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्वअध्यक्ष रोचक घिमिरेले साहित्यिक पत्रपत्रिकालाई प्रेस काउन्सिल नेपालको वर्गीकरणमा पारिए पनि विज्ञापन पाउन अझै सङ्घर्ष गर्नुपरेको बताउनुभएको छ ।

नेपाल साहित्यिक पत्रकार सङ्घको काभ्रेपलाञ्चोकको बुडोलमा आयोजना भएको चौथो राष्ट्रिय सम्मेलनमा उहाँले साहित्यिक पत्रकारिता देशको जेठो पत्रकारिताको रुप धारण गरे पनि त्यसले गति लिन नसक्नुका मुख्य कारण राज्यले आवश्यक सहयोग गर्न नसक्नु रहेको बताउनुभएको हो । “साहित्यिक पत्रपत्रिका टिकाउनु राज्यको पनि दायित्व भएकाले काउन्सिलको वर्गीकरणमा पारेर मात्रै नभई त्यसलाई विशेष प्रकारले राज्यले सहयोग गर्न आवश्यक छ,” उहाँले भन्नुभयो ।

नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष नगेन्द्रराज शर्माले अब नयाँ आउने कार्यसमितिले साहित्यिक पत्रकारहरुको पक्षमा राम्रो काम गरेको हेरेर रम्न चाहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालभरिमा सौहाद्र्रपूर्ण वातावरणमा काम गरेको उल्लेख गर्दै अबको कार्यकालमा अझ त्योभन्दा बढी राम्रो गर्न शुभकामना दिनुभयो ।

सङ्घका उपाध्यक्ष चेतनाथ धमलाले साहित्यिक पत्रकारितालाई राज्यले अझै पनि उपेक्षा गरेको बताउनुभयो । “अझै पनि साहित्यिक पत्रिका चलाउनु भनेको दल्छिन् ढुङ्गा चपाउन जतिकै जटिल छ”, उहाँले भन्नुभयो, “त्यसबाट मुक्त हुनका लागि कसरी अगाडि बढ्ने भन्ने कार्ययोजना राष्ट्रिय सम्मेलनले बनाउनुपर्छ ।”

देशभरिका साहित्यक पत्रकारहरुको सहभगिता रहेको सो राष्ट्रिय सम्मेलनले आज नै नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।

Facebook Comments Box