भक्तपुर, २ पुस । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले देशभरका सरकारी अस्पतालमा सेवा, सुविधा र प्रविधिको विकास गर्नुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मन्त्रालयले भक्तपुरको बोडेमा आयोजना गरेको दुईदिने राष्ट्रिय वार्षिक समिक्षामा बोल्दै उहाँले गुणस्तरीय सेवा र अस्पतालमा भएको प्रविधिको विकास गर्न सके मात्रै बिरामीले पनि सेवा सुविधाबाट बच्चित हुनुनपर्ने जानकारी गराउनुभयो ।
देशभर सञ्चालित अस्पताल र स्वास्थ्य चौकीमा कस्तो सेवा सुविधा प्रदान भइरहेको छ, त्यसको अनुगमन गरी समस्या भए छिट्टै समाधान गर्न उहाँले सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । मन्त्री यादवले स्वास्थ्य बीमाको प्रथम किस्ता तिर्नेको सङ्ख्या धेरै भएपनि दोस्रो किस्ता तिर्नेको सङ्ख्यामा कमी आउनुको कारण खोज्नु पर्ने बताउनुभयो ।
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले अस्पतालको सङ्ख्यामा वृद्धि गर्दै सेवा र सुविधाबाट कोही पनि बञ्चित नहुने गरी सेवा दिनु आवश्यक रहेको आंैल्याउनुभयो । कार्यक्रममा देशभरका जिल्ला जनस्वास्थ्य कार्यालय, क्षेत्रीय कार्यालय, प्रदेश कार्यालयलगायतका प्रतिनिधि र दातृ राष्ट्रका प्रतिनिधीको सहभागिता रहेको छ ।