नेपाल निजामती कर्मचारी युनियनले बझाङको चिरवित्थड गाउँपालिका–८ का सचिव दत्तराम अवस्थीमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
युनियनका उपमहासचिव दुर्गाप्रसाद फुयाँलले आज एक विज्ञप्तिमार्फत वडासचिव अवस्थीलगायतलाई अवैधानिकरूपमा माग गरिएको चन्दा नदिएको र स्थानीय व्यक्तिगत रिसिइवीका कारण कार्यालयमै केही अवाञ्छित व्यक्तिहरुले सामूहिक साङ्घातिक आक्रमण गर्दै अमानवीय र अभद्र व्यवहार गरेको उल्लेख गर्नुभएको छ ।
युनियनले राष्ट्रसेवक कर्मचारीलाई आस्था र अन्य वैयक्तिक कारण सामाजिकरूपमा गलत व्यवहार गर्नु दुःखद भएको उल्लेख गर्दै दोषीलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ । साथै राष्ट्रसेवकलाई निष्पक्ष, तटस्थ, भयमुक्त र स्वतन्त्ररूपमा कामकाज गर्ने वातावरण कायम गर्दै आम राष्ट्रसेवकको जीउधनको सुरक्षा गर्न पनि युनियनले सरकारको ध्यानाकर्षण गराएको छ ।