काठमाडौं, १७ फागुन । मङ्गलवार महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुसन्त र सर्वसाधारण मानिसको भिड लागेको छ । काठमाण्डूस्थित पाशुपत क्षेत्रमा हरेक वर्ष शिवरात्रिको अवसरमा देश तथा विदेशबाट लाखौँ दर्शनार्थी आउने गरेका छन् ।
यसपालि आठदेखि १० लाख दर्शनार्थी पशुपतिक्षेत्र पुग्ने पशुपति क्षेत्र विकास कोषको अनुमान छ । कोभिड महामारीका कारण गत वर्ष सामान्य ढङ्गले मनाइएको महाशिवरात्रि यसपालि कोभिडपूर्वको अवस्थामा जस्तै हुने अपेक्षा छ । यो वर्ष थुप्रै सङ्ख्यामा शिवरात्रि अगाडि नै साधु तथा साध्वी पशुपात क्षेत्रमा भेला भएका छन् ।
पशुपति क्षेत्रमा भेला हुने साधुसन्तहरू विभिन्न सम्प्रदायका छन् । पशपतिनाथ मन्दिर परिसरभित्र नागा साधु र साध्वीको बाहुल्य छ बने बाहिर अन्य सम्प्रदायका साधुसन्तहरू देखिन्छन् । भगवान् शिवको जन्मदिनका रूपमा शिवरात्रि मनाउने गरिन्छ ।
महाशिवरात्रिको पूर्वसन्ध्यामा सोमवार पशुपतिनाथ मन्दिर क्षेत्रमा ठूलो भिड जम्मा भएको थियो भने मङ्गलवार बिहानै देखि हजारौँ मानिसहरू मन्दिरमा दर्शन गर्न जान पङ्क्तिबद्ध हुन थालेका थिए।
अधिकांश मानिसहरु शिवरात्रीको दिन भगवान शिवको आराधना गर्छन् तर धेरैलाई यो थाहा नहुनसक्छ त्यसदिन शिवको आराधना किन गरिन्छ ? धेरैको बुझाइ एकै नहुनसक्छ । कोहि भगवान शिवलाई खुशी पारी वरदान लिनका लागि त कोहि अरुले गरेको देखेर पनि गर्छन् । तर यसको मुख्य कारण भने अर्कै छ ।
पूर्णिमाको अघिल्लो दिन सबैभन्दा अँध्यारो रात हुन्छ । जसलाई शिवरात्रीको नाम दिइन्छ । वर्षमा १२ देखि १३ वटासम्म शिवरात्री हुन्छ । तर माघ महिनामा आउने शिवरात्रीलाई महाशिवरात्री भनिन्छ । त्यस रात कोहि पनि सुत्नु हुँदैन भन्ने प्रचलन रहिआएको पाइन्छ ।
महाशिवरात्रीको अँध्यारो रातमा ग्रहको स्थिति यस्तो हुन्छ कि जहाँ मानव प्रणालीमा एक शक्तिशाली उर्जा प्राप्त हुन्छ । सो दिन रातभर ऊर्ध्वाधर स्थितिमा जागा बसेमा शारीरिक र आध्यात्मिक भलाइका लागि लाभदायक हुन्छ । यसकारण योग परम्पराका अनुसार महाशिवरात्रीको रात कुनैपनि मानिस सुत्नु हुँदैन ।