सयौँवर्ष अघिदेखि आफ्ना पूर्खाको समाधिस्थ गर्दै आएका भक्तपुर र काभ्रेका दशनामीहरू आफ्नो समाधिस्थलको संरक्षणमा जुटेका छन् । भक्तपुर नगरपालिका हनुमानघाटमा रहेको दशनामीहरूको मृत्युपश्चात पार्थिव शरीरलाई जमिनमा समाधिस्थ गरी अन्त्येष्ठी गर्दै आएको भक्तपुरको हनुमानघाटस्थित समाधिस्थलमा भक्तपुर नगरपालिकाले जथाभावी फोहर थुपारिदिने, शवको समाधि गर्ननै समस्या पर्ने गरी ढुङ्गा, इँटा, सिसा, बोरा, फलामका तार, सिमेन्टका पिलरलगायत सामग्रीसहितको माटो थुपार्ने र समाधिस्थलनै कब्जा गर्ने गरी संरचना निर्माणको तयारी गरेपछि भक्तपुरका दशनामीहरूले आजदेखि समाधिस्थलको सफाइ अभियाननै सुरु गरेका छन् ।
भक्तपुरका झण्डै एक हजार र काभ्रेको नालाका दशनामीहरूले सयौँ वर्ष अगाडिदेखि शव व्यवस्थापन गर्दै आएको समाधिस्थललाई सर्वोच्च अदालतको आदेश विपरीत संरचना निर्माण गर्दै व्यायाम गर्नेस्थल बनाउन थालेपछि दशनामीहरू एक भएर आफ्नो समाधिस्थल जोगाउनकै लागि आजदेखि सरसफाइ अभियान सञ्चालन गरेका छन् ।
भक्तपुर नगरपालिकाले विभिन्न ठाउँबाट ल्याएर थुपारेको फोहर माटोलाई डोजरले खनेर पुरिएका करिब १० ट्रक ढुङ्गा, इँटा, सिसा, बोरा, फलामका तार, सिमेन्टका पिलरलगायत सामानलाई निकालेर अन्यत्र लगेर व्यवस्थापन गरिएको छ ।
समाधिस्थलभरि रहेका सबै फोहर पन्छाएर शवको समाधिस्थ गर्न सहज हुने गरी सफाइ अभियान सुरु गरेको समाधिस्लथको सफाइ अभियानका अभियन्ता एवं संस्कृति संरक्षणकर्मी रवीन्द्र पुरीले जानकारी दिनुभयो । यसका लागि दशनामीहरू आफै भेला भएका छन्,भने संरक्षणका लागि रु आठ लाख आर्थिक सङ्कलन भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सयौँ वर्ष अगाडिदेखि दशनामीहरूले यो ठाउँलाई पूर्खा समाधिस्थ गर्दै आएको ठाउँ हो, यसको संरक्षण गर्नु दायित्व हामी दशनामीको त हो नै, कला, संस्कृतिको संरक्षण गर्ने भक्तपुर नगरपालिकाको पनि जिम्मेवारी हो, हामी हाम्रो समाधिस्थलको संरक्षणमा एक भएर जुटेका छौँ ।”
आज भक्तपुर नगरपालिकाभित्र रहेका, चाँगुनारायण नगरपालिका क्षेत्रको ताथली, सुडाल, बागेश्वरी, छालिङ, चाँगु, काभ्रेको नालालगायत क्षेत्रबाट सहभागी भएका ६०० भन्दा बढी दशनामीहरूले समाधिस्थलको सफाइ गरेका छन् ।
दशनामी समाज भक्तपुरका अध्यक्ष मनोज गिरीले दशनामीको समाधिस्थलमा भक्तपुर नगरपालिकाले जथाभावी गरिरहेको बताउँदै अरुको कला, संस्कृति, परम्परालाई सम्मान गर्न नगरपालिकाले सिक्नुपर्ने बताउनुभयो ।
त्यसो त १० वर्ष अगाडि नै यस समाधिस्थललाई व्यवस्थित गर्न पुरीले तयार पारेको गुरुयोजनालाई सार्वजनिक गरी कार्यान्वयनमा ल्याउन लागेपछि भक्तपुर नगरपालिकाले अवरोध गरेपछि सर्वोच्च अदालतमा यसविरुद्ध रिट नै परेको थियो ।
सर्वोच्च अदालतले २०७४ सालमा भक्तपुर नगरपालिकाको नाममा आदेश जारी गर्दै दशनामीहरूका समाधिस्थलभित्र कुनै संरचना नबनाउन र समाधिस्थललाई तारबार लगाएर संरक्षण गर्न आदेशनै जारी गरेको थियो । त्यस अवधिमा नगरपालिकाले समाधिस्थलमा बसपार्क बनाउने, खेल मैदान बनाउने लगायतको तयारी गरेपछि दशनामीले विरोध गर्दै आएका थिए । नगरपालिकाले समाधिस्थलको यसअघि पनि अतिक्रमण गर्दै आएको उनीहरूको गुनासो छ ।
गुरुयोजनामा समाधिस्थल वरिपरी पर्खाल घेर्ने, समाधिस्थलकाबीच भागमा आकर्षक शिव मन्दिरको स्थापना गर्ने, समाधिस्थलको पूर्व भागमा आकर्षक एवं परम्परागत शैलीको किरियापुत्री भवन निर्माण गर्ने, नुहाउनका लागि धाराको व्यवस्थापन गर्ने, खोलाको छेऊमा सिँढी निर्माण गरी घाट व्यवस्थापन गर्ने र समाधिस्थलमा पार्थिव शरीरलाई व्यवस्थित रुपमा समाधिस्थ गर्ने समाजको गुरुयोजना कार्यान्वयनमा आउन सकेको छैन ।
कूल १९ रोपनी क्षेत्रफलमा फैलिएको समाधिस्थलको पश्चिमपट्टी जहाँ धेरै शव समाधिस्थ गरिएको छ, त्यस स्थानमा नगरपालिकाले सिमेन्टको इँटा ओछ्याएर व्यायाम गर्ने स्थल बनाउने तयारी गरेको बताइएको छ । दशनामीले यसको विरोध गर्दै दशनामीको धर्म, संस्कृति र मृत्युपछिको परम्पराविरुद्ध कुनै काम नगर्न नगरपालिकालाई आग्रह गरेका छन् ।
यस समाधिस्थलमा दशनामी समाज अन्तर्गतका गिरी, पुरी, भारती, वन, सागर, सरस्वती, आरण्य, तीर्थ, पर्वत र आश्रम एवं जङ्गम जातिका मृतक व्यक्तिको पार्थिव शरीरलाई समाधिस्थ गर्दै (शव गाड्दै) आइरहेका छन् ।