कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले अवैधरूपमा सञ्चालनमा रहेका फार्मेसीलाई बन्द गर्न एक साताको अल्टिमेटम दिएको छ । नगरपालिकाले बजार अनुगमनको क्रममा अधिकांश फार्मेसी दर्ता बिना नै सञ्चालनमा रहेको पाइएपछि एक साताको समय दिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले अनुगमनका क्रममा अवैध फार्मेसी सञ्चालनमा रहेको पाइएको बताउनुभयो । “हामीले एक साताभित्र नगरपालिकामा आएर दर्ता गर्न भनेका छौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्यजस्तो संवेदनशील विषयमा अनधिकृतरूपमा औषधि बेचेको पाइयो ।”
नगर प्रमुख किशोरकुमार लिम्बूसहित नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले अनुगमन गर्दा बजारमा शैक्षिक योग्यताको प्रमाणपत्र र दर्ता बिनाका फार्मेसीले अनधिकृतरूपमा औषधि बिक्री गरिरहेको भेटिएको हो ।
दोधारा चाँदनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले नगरभित्र भारतीय नागरिकले अवैधरूपमा फार्मेसी सञ्चालन गरेको पाइएको बताउनुभयो । “नेपाल सरकारले बन्देज गरेका औषधिसमेत बिक्री गरेको भेटियो”, उहाँले भन्नुभयो, “ती अवैध फार्मेसी सबै भारतीय नागरिकका हुन्, एक साताभित्र प्रक्रिया पूरा गरेर दर्ता गर्न नभए बन्द गर्न भनेका छौँ ।” उहाँले एक साताभित्र दर्ता प्रक्रियामा नआए बन्द गरिने बताउनुभयो । “न दर्ता प्रमाणपत्र छ न शैक्षिक प्रमाणपत्र छ”, उहाँले भन्नुभयो, “आवश्यकताभन्दा बढी पावरका र सरकारले बन्देज गरेका औषधिसमेत बिक्री गरेको पाइयो ।” उहाँले नगरपालिकाले एक सातापछि अनुगमन गरेर कारबाही प्रक्रियामा जाने बताउनुभयो । उहाँका अनुसार नगरपालिकामा २१ वटा फार्मेसी अवैध भेटिएका छन् ।
भारतीय मूलका बङ्गालीले सञ्चालन गरेका ती फार्मेसीमा बिरामीलाई औषधि दिने, सुई लगाउने, अवैधरूपमा गर्भपतनसम्म गराउने गरेको पाइएको हो । अनुगमनका क्रममा म्याद नाघेका औषधिसमेत भेटिएको स्वास्थ्य शाखा प्रमुख महराले बताउनुभयो ।
दोधारा चाँदनी नगरपालिका भारतको उत्तराखण्ड र उत्तरप्रदेशसँग खुला सीमा भएका कारण यहाँ भारतीय नागरिकको बढी आवतजावत हुने गरेको छ । नगर प्रमुख लिम्बूले फार्मेसीले अवैधरूपमा लागुऔषध बिक्री गर्न थालेपछि यहाँका युवापुस्ता बिग्रिन थालेको बताउनुभयो । उहाँले कानून र सरकारले तोकेको मापदण्डअनुसार सञ्चालन नगरे पसल बन्द गराउने बताउनुभयो ।