‘स्वास्थ्य सेवा आमजनताको मौलिक अधिकार’

समाचार स्वास्थ्य/शिक्षा

मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले स्वास्थ्य सेवा आमजनताको मौलिक अधिकार भएको बताउनुभएको छ । उहाँले गुणस्तरीय सेवा प्रदान गर्नका लागि सरकारी सेवामा कार्यरत चिकित्सकलाई विशेष आग्रह गर्नुभयो ।

प्रदेश प्रमुख मिश्रले मधेस प्रदेशको समग्र स्वास्थ्यको अवस्थाका बारेमा प्रदेश स्वास्थ्य निर्देशनालयले आज जनकपुरधाममा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा सो धारणा व्यक्त गर्नुभएको हो । मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले कतिपय स्वास्थ्यका सूचकमा प्रदेशमा थप कामकाज गर्न आवश्यक भएको बताउँदै गुणस्तरीय स्वास्थ्य सेवाविना अन्य क्षेत्रको विकास कठिन हुने बताउनुभएका हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्रले स्वास्थ्य क्षेत्रको सुधारका लागि कुनै एक पक्षको प्रयासले नपुग्ने बताउँदै सबैको साथ एवं सहयोग आवश्यक भएको बताउनुभयो । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहले मधेस प्रदेशको समग्र स्वास्थ्य अवस्थामा सुधार गर्नका लागि प्रतिष्ठानले स्वास्थ्य शिक्षा तथा अनुसन्धानमा जोड दिएको बताउनुभयो ।

मधेस प्रदेशका स्वास्थ्य निर्देशक विजयकुमार झाले प्रदेशको समग्र स्वास्थ्यको अवस्थाका विषयमा प्रकाश पार्दै वार्षिक समीक्षामा आएका विषयवस्तु मन्त्रालयले सम्बोधन गर्नका लागि कन्जुस्याइँ गरिरहेको बताउनुभयो । महोत्तरीका एकडारा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डल, धनुषाको लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्र, मधेस प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराई, युएनएफपिएका प्रदेश प्रमुख डा नरेन्द्र मिश्र, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश साह, प्रादेशिक प्रयोगशाला जनकपुरधामका निर्देशक डा श्रवणकुमार मिश्र, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा प्रमोदकुमार यादवसहितका वक्ताले सो अवसरमा बोल्नुभएको थियो ।

तीन दिनसम्म चल्ने वार्षिक समीक्षामा प्रदेशभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाको अवस्था, यसले प्रदान गरेको स्वास्थ्य सेवा, भविष्यमा गर्नुपर्ने सुधारका पक्षका विषयमा गहन छलफल तथा समीक्षा हुने जनाइएको छ ।

Facebook Comments Box