डोटी, १२ फागुन । स्वास्थ्य क्षेत्रका सरोकारवालाले सुरक्षित गर्भपतन तथा सेवाका बारेमा आवश्यक जानकारी अभावमा असुरक्षित गर्भपतन गराउनेक्रम नरोकिएको बताएका छन् ।
गर्भपतनका बारेमा अझै समाजमा भ्रम विद्यमान रहेकाले महिला खुलेर सूचीकृत स्वास्थ्य संस्थामा आउन नसकेको उनीहरुको धारणा छ । आइपास नेपालको सहयोगमा सामुदायिक विकास मञ्च नेपालले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको सुरक्षित गर्भपतनसम्बन्धी सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा सहभागीले सुरक्षित गर्भपतन तथा निःशुल्क सुरक्षित गर्भपतन सेवाका बारेमा उपलब्ध सेवाका बारेमा समुदायस्तरसम्म जानकारी प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए ।
अझै पनि निजी मेडिकल तथा सूचीकृत नभएका स्वास्थ्य संस्थामा गर्भपतन गराउने र जोखिम बढेपछि मात्र अस्पतालमा उपचारका लागि आउने गरेको पाइएको छ । सुरक्षित गर्भपतन र सेवाका बारेमा समुदायस्तरमा जानकारी प्रवाह गर्नसके जोखिम न्यूनीकरण गर्न सकिने जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा भुषण मिश्रले बताउनुभयो ।
सामुदायिक विकास मञ्चद्वारा सञ्चालित सुरक्षित गर्भपतन सेवा कार्यक्रमका कार्यक्रम अधिकृत दीपा सिंहले महिलामा गर्भपतनका बारेमा भ्रम र भेदभाव रहेको, लिंग पहिचान गरि गर्भपतन गराउने गरेका तथा पटकपटक गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा जोखिम बढेको बताउनुभयो ।
समुदायस्तरमा सुरक्षित गर्भपतनका बारेमा सूचना तथा जानकारी अभाव रहेको पाइएकाले सुरक्षित गर्भपतन र जिल्लामा उपलब्ध सेवाका बारेमा समुदायस्तरसम्म जानकारी प्रवाह गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा सहभागीको जोड थियो ।
सामुदायिक रेडियो प्रसारक सङ्घ सुदूरपश्चिम प्रदेश सचिव कर्ण चन्दले सुरक्षित गर्भपतन र उपलब्ध सेवाका बारेमा समुदायस्तरसम्म सूचना जानकारी प्रवाह गर्न सञ्चारकर्मी र सरोकारवालाबीचमा समन्वय हुनुपर्ने बताउनुभयो ।
जिल्ला अस्पतालका साथै तिखा, गड्सेरा, चवराचौतारा, पोखरी, मौवा, मुडभारा, भूमिराजमाण्डौँ, बर्छैन, लानाकेदारेश्वर, लडागडा, सरस्वतीनगर, छतिवन, सानागाउँ, डौड, दानकोट, कफल्लेकी, दुर्गामाण्डौँ र तिखातर गरि १८ स्वास्थ्य चौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा उपलब्ध छ ।
सुरक्षित गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थामध्ये सामुदायिक विकास मञ्चद्वारा सञ्चालित सुरक्षित गर्भपतन सेवा कार्यक्रमअन्तर्गत दुर्गामाण्डौँ, कफल्लेखी, डौड, छतिवन र सरस्वतीनगर स्वास्थ्य संस्थामा प्राविधिक सहयोग तथा आम सचेतीकरण गर्ने कार्यक्रम सञ्चालित रहेको मञ्चका सचिव सिद्धराज जोशीले बताउनुभयो ।
प्राविधिक शिक्षा स्वरोजगारमूलक बनाउनुपर्ने
प्राविधिक शिक्षालाई स्वरोजगारमूलक बनाउनुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सुदूरपश्चिम प्रदेश कार्यालयले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा विभिन्न जिल्लामा प्राविधिक शिक्षा सञ्चालन गरिरहेका आङ्गीक विद्यालयका प्रमुख, शिक्षा क्षेत्रमा कार्यरत प्रतिनिधि, जनप्रतिनिधिलगायतले प्राविधिक शिक्षामा अध्ययनरत जनशक्तिले पढेलगत्तै जागिर खोज्ने प्रवृत्तिले बेरोजगारी समस्या बल्झिएको बताउनुभयो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् प्रदेशका प्रमुख डा कुष्माकर भट्टले सुदूरपश्चिममा मात्र वार्षिक छ हजार जनशक्ति उत्पादन भइरहेको जानकारी दिनुभयो । वर्षेनी हजारौँको सङ्ख्यामा उत्पादन भइरहेको जनशक्तिलाई सरकारले रोजगारी दिन असम्भव रहेको उहाँले बताउनुभयो ।
सुदूरपश्चिममा प्रस्तावित आङ्गीक चार शिक्षालय, प्राविधिक शिक्षा पढाउने सामुदायिक विद्यालय ७७, शिक्षा विभागबाट मान्यता लिएका कक्षा ९ देखि १२ सम्म पढाइ हुने विद्यालय २५ र निजी क्षेत्रका गरी १३६ शिक्षण संस्था छन् । शिक्षण संस्था र जनशक्तिको मात्र उत्पादन नगरी यसको गुणस्तर र व्यवहार गतिविधिमा जोड दिनुपर्ने डा भट्टको जोड थियो ।
प्रमुख जिल्ला अधिकारी यदुप्रसाद यादवले प्राविधिक शिक्षा पढेकालाई स्वरोजगारमूलक व्यवसायतर्फ प्रेरित गर्न जनप्रतिनिधिले रणनीति बनाउन जरुरी रहेको बताउनुभयो । दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्काले बढ्दो बेरोजगारी हटाउन सीपमूलक शिक्षाको आवश्यकता औँल्याउनुभयो ।